जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि मधेश प्रदेशबाट उम्मेदवारको नाम टुंगो लगाएको छ ।
पार्टीका अनुसार अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह तथा दलिततर्फ चमेली देवी दासलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै मधेशको आवाजलाई राष्ट्रिय तहमा सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित पार्टीले योग्य, अनुभवी र प्रतिबद्ध व्यक्तित्वहरूलाई अघि सारेको केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
जसपा नेपालले संविधानले प्रत्याभूत गरेको समावेशी लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा उतार्न राष्ट्रिय सभामा मधेश, महिला, दलित तथा अल्पसंख्यक समुदायको प्रभावकारी प्रतिनिधित्व आवश्यक रहेको धारणा राख्दै आएको छ । सोही नीतिअनुरूप उम्मेदवार चयन गरिएको उनको भनाइ छ ।
पार्टी नेतृत्वका अनुसार चयन गरिएका उम्मेदवारहरूले मधेशका मुद्दा, सामाजिक न्याय, समानता, अधिकार र समावेशिताका सवाललाई राष्ट्रिय सभामा मजबुत ढंगले उठाउने अपेक्षा गरिएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र सुशासन प्रवर्द्धनमा उनीहरूको भूमिका महत्वपूर्ण हुने विश्वास पार्टीले व्यक्त गरेको छ ।