‘इन्डियन आइडल–३’ विजेता प्रशान्त तामाङको अन्त्येष्टिको तयारी

दिल्ली । ‘इन्डियन आइडल’ सिजन–३ का विजेता तथा चर्चित गायक तथा अभिनेता प्रशांत तामाङको पार्थिव शरीर सोमबार दिल्लीबाट पश्चिम बंगालको बागडोगरा विमानस्थल ल्याइएको छ।

विमानस्थलमा शव आइपुग्नेबित्तिकै उनकी पत्नी, परिवारजन, आफन्त र सयौँ प्रशंसक भावुक बनेका थिए। शव देख्नेबित्तिकै रुवाबासी मच्चिएको थियो भने उपस्थित सबैको आँखाबाट आँसु झरेको दृश्य देखिन्थ्यो।

४३ वर्षीय तमाङको आइतबार नयाँ दिल्लीमा हृदयाघातका कारण अचानक निधन भएको थियो। उनी केही समयदेखि दिल्लीमै रहेका थिए। अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनका परिवारका अनुसार उनको निधन प्राकृतिक कारणले भएको हो।

प्रशांत तमाङको पार्थिव शरीर बागडोगराबाट उनको पैतृक थलो दार्जिलिङ लगिने तयारी गरिएको छ, जहाँ धार्मिक विधिअनुसार अन्त्येष्टि गरिनेछ। दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका पहाडी क्षेत्रमा शोकसभाको आयोजना गरिँदैछ। स्थानीय प्रशासनले अन्त्येष्टिमा ठूलो संख्यामा मानिस उपस्थित हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाएको छ।

सन् २००७ मा ‘इन्डियन आइडल–३’ जितेपछि तामाङ रातारात स्टार बनेका थिए। साधारण परिवारबाट आएका उनले आफ्नो संघर्ष, इमानदारी र मधुर स्वरका कारण करोडौँ दर्शकको मन जितेका थिए। नेपाली, हिन्दी, बंगाली र तामाङ भाषामा गाएका उनका गीतहरू अत्यन्त लोकप्रिय छन्।

गायनसँगै उनले अभिनय क्षेत्रमा पनि पाइला टेकेका थिए। केही नेपाली र हिन्दी चलचित्रमा अभिनय गरेका उनले हालै चर्चित वेब सिरिज ‘पाताल लोक–२’ मा महत्वपूर्ण भूमिकामा देखिएर प्रशंसा कमाएका थिए।

उनको निधनपछि संगीत र फिल्म क्षेत्रका कलाकार, राजनीतिक व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘तपाईंको स्वर सधैं बाँचिरहनेछ’ भन्दै प्रशंसकहरूले भावुक सन्देश लेखिरहेका छन्।

प्रशांत तमाङको असामयिक निधनले नेपालीभाषी समुदाय मात्र होइन, सम्पूर्ण भारतीय संगीत जगत् शोकमा डुबेको छ। गायक बन्नुअघि कोलकाता प्रहरीमा कार्यरत उनी आइडल जितेपछि उनले नेपाली, हिन्दी र अन्य भाषामा गीत गाएका छन्। उनको जितलाई दार्जिलिङ, सिक्किम, नेपाललगायतका नेपालीभाषी समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस