राजविराज । सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भएको मतदानमा ५५ प्रतिशतभन्दा बढी मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर अधिकांश केन्द्रमा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार साँझ ५ बजेसम्मको प्रारम्भिक विवरणअनुसार ५५.३४ प्रतिशत मत खसेको छ। मतदानपछि थप विवरण संकलन भइरहेको उनले बताए। अन्तिम तथ्यांक भने केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।
प्राप्त विवरणअनुसार हालसम्म सप्तरीमा १ लाख ३३ हजार १६५ महिला, १ लाख १२ हजार ४३८ पुरुष तथा ३ जना अन्य मतदाताले मतदान गरेका छन्। यसअनुसार कुल २ लाख ४५ हजार ६०६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा यसपटक कुल ४ लाख ४६ हजार ४०२ मतदाता रहेका छन्। प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्लाभर सुरक्षा निकाय परिचालन गरिएको थियो। अधिकांश मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको थियो। विशेषगरी महिला, युवा तथा ज्येष्ठ नागरिकको सहभागिता उल्लेखनीय रहेको निर्वाचन कार्यालयले जनाएको छ।
मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गरी सुरक्षित रूपमा तोकिएका स्थानमा राख्ने कार्य भइरहेको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार केही दिनभित्र मतगणना सुरु गरिने तयारी गरिएको छ।

