चुनावी हारको कारण एल्गोरिदम कि राजनीतिक असफलता ?

 

जयप्रकाश आनन्द

प्रतिनिधिसभा निर्वाचनमा बालेन-रविका रास्वपाको ठूलो जित र एमाले–कांग्रेस लगायतका पुराना भनिने पार्टीहरूको भारी हारपछि यस्ता दलका नेताहरूले सामाजिक सञ्जालको ‘एल्गोरिदम’ प्रविधिलाई हारको प्रमुख कारणका रूपमा देखाउन थालेका छन्।

यसमा द्विमत छैन कि नयाँ पुस्ताको नेतृत्व गर्ने रास्वपाले बढदो लोकप्रियतामा रहेका सामाजिक संजालहरूको भरपुर उपयोग गर्यो। नेपाली संचार क्षेत्रको एक विश्लेषणअनुसार फेसबुकका २४ प्रमुख पेजमा गरिएको २,४४७ राजनीतिक पोस्टमध्ये ५४.१% सामग्री रास्वपाका पक्षमा थियो—जो कांग्रेसको भन्दा करिब ९ गुणा बढी हो। यस्तै तथ्यलाई आधार बनाउँदै पुरातनपंथी नेताहरूले “एल्गोरिदमको उपयोगबाट अवाँन्छित” लाभ लिएको तर्क अघि सारे। उनीहरूको भनाइ छ—एल्गोरिदमले जनताको असन्तुष्टि र आक्रोशलाई अत्यधिक रूपमा बढाएर देखायो र अन्ततः त्यही वातावरण मतमा परिणत भयो। यस्तै तर्क केही प्रबुद्ध भनिनेका विश्लेषणहरूमा पनि दोहोरिएको छ—कांग्रेस–कम्युनिस्टप्रतिको असन्तुष्टि नै नयाँ शक्तिहरूको राजनीतिक पूँजी बन्यो, र डिजिटल माध्यममा प्रभावशाली उपस्थिति उनीहरूको बलियो हतियार बन्यो। यो ठिक पनि हो।

कुरो सजिलो छ—नयाँलाई नयाँ किन भनिन्छ? यौटा मिठो तर घतलाग्दो प्रसंग चर्चा गरौं। कुनै पुराना मान्यताहरूबाट जकडिएको समाजमा जब कुनै जडता टुटद्छ, अनि प्रश्न गरिन्छ कि यो कसरी संभव छ र ? हाम्रो परम्परा कसरी बदलिन सकिन्छ र? अनि कुनै प्रबुद्ध समाजमा जब बिज्ञानले कुनै नयाँ खोज गर्दछ, तेस उपलब्धिमा उत्सव मनाईन्छ। संतोष गरिन्छ कि-एक नयाँ कुरा सामुन्ने आएको छ। यसैको समदृश्य परिस्थिति अहिले नेपाली समाजमा देखिएको छ।

‘एल्गोरिदम’ आजका लोकप्रिय इन्टरनेट युगको एक प्रविधि हो। यो आफैमा बिषय बस्तुलाई जन्म दिदैन। उत्पन्न बिषय बस्तुको संग्रहकर्ता हो, यसैको प्रस्तुतिकरण गर्दछ। यसर्थ, यहाँ एउटा आधारभूत प्रश्न उठ्छ—के वास्तवमै एल्गोरिदम दोषी हो? वास्तवमा एल्गोरिदम कुनै षड्यन्त्रकारी शक्ति होइन। यो त प्रविधिको एक सरल नियम हो, जसले प्रयोगकर्ताको रुचि, खोज र प्रतिक्रियालाई आधार मानेर सामग्री देखाउँछ। तपाईंले बारम्बार जुन विषय खोज्नुहुन्छ, पढ्नुहुन्छ वा प्रतिक्रिया दिनुहुन्छ, एल्गोरिदमले त्यही विषयसँग सम्बन्धित सामग्री तपाईंको अगाडि ल्याउँछ। यो कुनै जादू होइन—यो गणितीय प्रक्रिया मात्र हो।

यदि मानिसहरूले “भ्रष्टाचार”, “बेरोजगारी”, “कुशासन” वा “विदेश पलायन” जस्ता विषयहरू बढी खोजिरहेका छन् भने एल्गोरिदमले तिनै विषयका समाचार, भिडियो र लेखहरू देखाउँछ। असंख्य स्रोतहरूबाट यसले बिषयहरू जम्मा गरेर तपाईको ईच्छा अनुसार प्रस्तुत गरिदिन्छ। यसले समस्या सिर्जना गर्दैन; केवल समाजमा रहेका चिन्ता र प्रश्नलाई स्पष्ट रूपमा देखाउँछ।
त्यसैले प्रश्न एल्गोरिदमको होइन, वास्तविकताको हो। यदि शासन स्वच्छ, पारदर्शी र प्रभावकारी भएको अनुभूति जनतामा बलियो हुन्थ्यो भने डिजिटल माध्यममा सकारात्मक विषयहरू नै बढी देखिन्थे। तर जब जनताले भ्रष्टाचार, बेरोजगारी, कमजोर सेवा र अवसरको अभाव देख्छन्, उनीहरू स्वाभाविक रूपमा त्यही विषय खोज्छन्। एल्गोरिदमले त्यसलाई केवल प्रतिबिम्बित गर्छ।

आजको प्रविधि–युगमा एल्गोरिदमलाई दोष दिनु भनेको पुस्तकालयको क्याटलगलाई दोष दिनु जस्तै हो—जसले पुस्तक कहाँ छ भनेर मात्र देखाउँछ। वा अखबारको रुचिअनुसारको पानालाई दोष दिनु जस्तै।सत्य सरल छ: एल्गोरिदमले कसैलाई जिताउँदैन, हराउँदैन। यसले केवल जनताको ध्यान, रुचि र असन्तुष्टिलाई उजागर गर्छ। त्यसैले समाधान पनि स्पष्ट छ—प्रविधिलाई दोष दिनु होइन, आफ्ना काम र राजनीतिक शैली सुधार्नु। किनकि एल्गोरिदम कुनै खलनायक होइन; यो त हाम्रो समाजको ऐना मात्र हो।
राजनीतिज्ञहरू प्रायः आफूलाई निकै चतुर ठान्छन्। उनीहरूको विश्वास हुन्छ—जनताको स्मृति अल्पकालीन हुन्छ, केही समय बितेपछि घटना बिर्सिन्छन्। त्यसैले उनीहरू कहिले काँही आफ्नै अघिल्ला भनाइलाई उल्ट्याएर पनि नयाँ कथा सुनाउन हिच्किचाउँदैनन्।

तर समय बदलिएको छ। अब जनताको स्मृति केवल दिमागमा मात्र सीमित छैन; त्यो डिजिटल संसारमा पनि सुरक्षित छ—जहाँ एल्गोरिदम नामको अदृश्य अभिलेखपाल बसेको छ। जेन्जी आन्दोलनको दिन, भाद्र २४ को त्यो भयावह क्षण सम्झौं। परिस्थिति यस्तो बनेको थियो कि तत्कालीन प्रधानमन्त्री केपी ओली आफैं भयाक्रान्त देखिन्थे। सुरक्षा अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिएपछि सेनाको सहयोगमा उनी हेलिकोप्टर चढेर बालुवाटारबाट बाहिर निकालिए।

पछि स्वयं ओलीले त्यो दिनको अवस्थालाई स्मरण गर्दै भनेका थिए—“यदि सेनाले मलाई रेस्क्यू नगरी त्यहीँ प्रधानमन्त्री निवासमा छोडिदिएको भए उत्तेजित भीडले मेरो हत्या गर्ने सम्भावना थियो।” यो कथनले त्यो दिनको तनाव, डर र अनिश्चितता स्पष्ट झल्काउँथ्यो।

तर राजनीति कहिलेकाहीँ स्मृतिको होइन, सुविधाको खेल पनि हुन्छ। चुनाव प्रचारका क्रममा झापामा विभिन्न टेलिभिजन अन्तर्वार्तामा त्यही घटनालाई ओलीले हाँसो–ठट्टाको शैलीमा प्रस्तुत गरे। उनले भने—
“नानीबच्चाहरूले बालुवाटार छोड्न दबाब दिइरहेका थिए, तिनैको मन राख्न म हेलिकोप्टर चढेर बाहिर गएको हुँ।”

एकै घटनाका यी दुई फरक चित्र थिए—पहिलो, जीवन–मृत्युको भयले भरिएको। दोस्रो, हल्का मजाकको रंगले पोतिएको। सायद राजनीतिज्ञलाई लाग्छ—जनताको स्मृति धुमिल हुन्छ, चुनावको दिनसम्म यस्तो कुरा कसैले सम्झँदैन।

तर आजको युगमा एउटा नयाँ पात्र उपस्थित छ—एल्गोरिदम। यो न थाक्छ, न बिर्सन्छ, न त पक्षपात गर्छ।

कसैले सामाजिक सञ्जालमा त्यो घटना खोज्यो भने, एल्गोरिदमले पुराना भिडियो, अन्तर्वार्ता, समाचार र अभिव्यक्तिहरूको सूची तुरुन्तै अगाडि राखिदिन्छ। उसले कुनै कथा घड्दैन; केवल अभिलेख देखाउँछ।

मानिसको स्मृति कहिलेकाहीँ भावनाले ढाक्न सक्छ, तर एल्गोरिदमको स्मृति निरपेक्ष हुन्छ। उसको “मेमोरी लाइन” मा न कपट हुन्छ, न चयनात्मक विस्मरण। त्यसैले आजको राजनीतिमा एउटा नयाँ यथार्थ उभिएको छ—

राजनीतिज्ञहरूले चाहे जति कथा फेरून्, डिजिटल समयको अभिलेखपाल भने चुपचाप बस्छ, तर जब कसैले प्रश्न सोध्छ, उसले तुरुन्तै पुरानो सत्य अगाडि राखिदिन्छ।

सायद यही कारणले आजको लोकतन्त्रमा स्मृति केवल जनताको मात्र होइन—प्रविधिको पनि भएको छ। र त्यो स्मृति, एक पटक सुरक्षित भएपछि, सजिलै मेटिँदैन।

लेखक जयप्रकाश आनन्द वरिष्ठ राजनीतिज्ञ हुन् । वौद्धिक नेताका रुपमा परिचित उनी राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस