काठमाडौँ । पत्रकार तथा साहित्यकार अमरेन्द्र यादव लाई नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा “प्रज्ञा मातृभाषा पुरस्कार–२०८२” प्रदान गरिएको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठान सभागारमा आयोजित विशेष समारोहमा उनलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । मैथिली भाषा र साहित्य क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्याएको कदरस्वरूप प्रतिष्ठानले उनलाई सम्मान गरेको जनाएको छ । कार्यक्रममा वक्ताहरूले यादवको मैथिली भाषा संरक्षण, प्रवर्द्धन तथा साहित्य सिर्जनामा महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन् ।
कवि तथा पत्रकार यादव लामो समयदेखि मैथिली आन्दोलन र साहित्य लेखनमा सक्रिय छन् । उनको प्रकाशित मैथिली काव्य सङ्ग्रह ‘स्त्री आ आगि’ (२०७८) विशेष चर्चामा रहेको थियो । सोही कृतिका लागि उनले “नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार–२०७७” समेत प्राप्त गरेका थिए । साथै उनले बहुभाषिक काव्य सङ्ग्रह ‘भवप्रीता’ सम्पादन गरेका छन्, जसमा १० भाषाका ५० जना कविका १०० कविता समावेश छन् ।
साहित्य क्षेत्रमा सक्रिय यादवले एक सयभन्दा बढी गीत, गजल, कविता, लघुकथा तथा कथाहरू लेखेका छन्, जुन विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । शैक्षिक रूपमा अंग्रेजी साहित्य र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी मैथिली, नेपाली र अंग्रेजी तीनै भाषामा दक्ष छन् ।
राजनीतिक तथा सामाजिक विषयमा उनका लेख तथा निबन्धहरू विभिन्न राष्ट्रिय दैनिकहरूमा नियमित रूपमा प्रकाशित हुँदै आएका छन् । पत्रकारिता क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रहेको छ । दुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकार यादव विगत करिब १४ वर्षदेखि अंग्रेजी दैनिक ‘दि राइजिङ नेपाल’को समाचार कक्ष तथा सम्पादकीय टोलीमा कार्यरत छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको यो सम्मानलाई मैथिली भाषा तथा साहित्यको विकासमा उनले पुर्याएको योगदानको उच्च मूल्यांकनका रूपमा हेरिएको छ ।