बिनोदकुमार भट्टराई
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा २०३०–०३१ सालतिर अर्थशास्त्र विषय लिएर एम.ए. को अध्ययन प्रारम्भ गर्दै गर्दा एम.एड. का समकालिन साथी तनहुं काहुंशिवपुरका प्रमोद पराजुली र एम.एस्सी. गर्दै गरेका संखुवासभाका चक्रहली न्यौपानेलाई साथै लिएर भान्दाई ध्रुवप्रसाद अधिकारीको घर पुलचोक बखुन्डोलमा बस्दै आउनुभएका किसुनजीकहां बरोबर दिउसो एक बजे तिर कीर्तिपुरबाटै पुग्ने गर्थें ।
किसुनजीले हामीलाई त्यही समय मिलाएर आउन भन्नुभएको थियो । कक्षा समयको अनुकूलता हेरी हामी हप्तामा तीन चार पल्ट किसुनजीकहां त्यसै गरी पुग्ने गर्थ्यौं । त्यस समयमा प्रायसः किसुनजीलाई अत्यन्त उत्फूल्लित र तनावमुक्त पाउथ्यौं हामी । शायद खाना पछिको एक घन्टाको निन्द्राले नै वहांलाई स्फूर्ति प्रदान गरेको हुनुपर्छ । हामी पनि त्यस समयमा किसुनजीलाई नयां नयां खबर र विचारहरु के सुनाउन सकिएला भन्ने उधेडबूनमा रहेका हुन्थ्यौं । त्यसका लागि हामी बेलुकीको विविसी र अल इन्डियाका समाचार र विश्लेषणहरु सुन्ने गर्थ्यौं।
दिल्लिबाट प्रकाशित ‘दिनमान’ का लेखहरु पढने गर्दथ्यौं । त्यतिखेर भारतमा समाजवादी गान्धीवादी नेता जयप्रकाश नारायणको नेतृत्वमा सम्पूर्ण क्रान्तिको अभियान सन्चालित थियो । बेलुकीको बिबिसीमा यसको सामाजिक र राजनीतिक पक्ष विपक्षमा आएका विश्लेषणहरुलाई हामी किसुनजीलाई तछाड मछाड गरेर सुनाउने गर्दथ्यौं । किसुनजी मुसुमुसु हांस्दै हाम्रो कुराहरु सुन्ने गर्नु हुन्थ्यो । प्रमोद पराजुली आफ्ना कुराहरु मार्क्सवादी धारलाई केन्द्रमा राखेर प्रस्तुत गर्ने गर्दथे ।
एक पल्ट जयप्रकाशजीको सम्पूर्ण क्रान्तिको विविध पक्षबारे कुरा हुंदा किसुनजीले हामीलाई आठ वटा पुस्तक अनिवार्य रुपमा पढन र मनन् गर्न सल्लाह दिनुभएको थियो । ती पुस्तकहरु थिए – मार्क्सवादी फ्रेन्च दार्शनिक रेजिस देब्रेले लेखेको फिडेल क्यास्ट्रोको क्युवा अभियान बारेको ‘रिभोल्युशन इन रिभोल्युशन’ नामक पुस्तक, लेनिनले लेखेको ‘स्टेट एन्ड रिभोल्युशन’, प्रख्यात अमेरिकी पत्रकार लुइस फिसरले लेखेको ‘दि लाइफ अफ महात्मा गान्धी’, राहुल सांस्कृत्यायनले लेखेका ‘भागो नही दुनियां को बदलो’, ‘भोल्गा से गंगा तक’ र ‘माओ त्से तुङ्गको जीवनी’ र मार्क्स र एन्जेल्स लिखित ‘दि कम्युनिष्ट मेनिफेस्टो’ । वहांले कम्युनिष्ट मेनिफेस्टोको मौलिक अग्रेंजी रचना नै पढ्न र आफ्नो धारणा बनाउन भन्नुभएको थियो ।
आफ्नो धारणा नबनाईकन यस माथिको अरु कसैको पनि टिप्पणी पढ्न नहुने कुरा वहांले भन्नुभएको थियो । बेला बेलामा हामीलाई पालै पालो ‘टाइम्स अफ इन्डिया’को सम्पादकीय कराएर पढन लगाउनु हुन्थ्यो र त्यसको सार संक्षेप के हो भनेर पनि सोध्ने गर्नुहुन्थ्यो ।
किसुनजीको विहानको खाना खाने समय साढे दश तिर हुन्थ्यो । खाना खान वहां भान्दाईको घरको दोश्रो तल्ला बुईंगलमा रहेको भान्सा मै जानुहन्थ्यो । खाना खाएपछि पहिले पहिले वहां एक चिलिम तमाखु खाने गर्नु हुन्थ्यो र त्यसपछि एक घन्टा जति सुत्ने बानी थियो । तमाखुका लागि हुक्कामा ताजा पानी, पातोमा राखिएको ताजा तमाखुलाई चिलिमको घांटीमा उल्टो पारेर माथिबाट बल्दो कोइला राख्ने काम धेरैजसो घरमा काम गर्न बसेका नैकापका शिव बहादुर हमालले गर्ने गर्दथे । कहिले काहीं भान्दाईकी धर्मपत्नी सुशीला भाउज्यूले पनि तमाखु भर्ने काम गर्नुहुन्थ्यो ।
किसुनजीलाई तमाखु पनि असन त्यौड टोल कै चाहिन्थ्यो, कहिले काहीं अड्को पड्को अन्यत्रबाट ल्याइएको तमाखु तुरन्तै थाहापाई हाल्नुहुन्थ्यो । त्यस्तो बेलामा वहां तमाखु छाडेर एउटा चुरोट सल्काउनु हुन्थ्यो । पन्ध्र मिनेट जति तमाखु खाएपछि एधार, साढे एधार बजे तिर भुईतल्लाको वहांको कोठामा एक घन्टा जति सुत्नु हुन्थ्यो । हामी पुग्दा किसुनजी उठीवरी धेरैजसो आफ्नो जुत्तामा पालिस लगाइरहनु भएको हुन्थ्यो, कालो जुत्तालाई टिलिक्क पार्नुहुन्थ्यो । पालिस लगाइराखेको बेलामा एकपल्ट पुगेको बेला मैले लगाउन खोज्दा, भोली पर्सी कस्ले लगाउछ नी, भन्दै लगाउन दिनुभएको थिएन ।
आफ्ना कामहरु सकेसम्म आफै गर्ने बानी बसाल्नु पर्छ भन्नुहुन्थ्यो । त्यसपछि चिया आइपुग्थ्यो, हामी पनि संगै चिया खान्थ्यौं । चिया पछि एउटा चुरोट खाने बानी थियो । चिया र चुरोट खाउन्जेल सामान्य गफ गाफ हुन्थ्यो । त्यतिखेर सम्म दुई बजिसकेको हुन्थ्यो । त्यसपछि किसुनजी लुगा फेर्न कोठामा जानुहुन्थ्यो । टिनोपालमा राखेको निख्खर सेतो दौरा सुरूवाल, कालो कोट, कोटको माथिल्लो पकेटमा सेतो रुमालको टुप्पो देखिने गरी घुसारेर टिलिक्क परेको कालो जुत्ता लगाएर दाहिने हातमा नेपाल वायुसेवाका कप्तान श्रीराम शर्मा बरालले कोशेली भनी ल्याई दिएको छडी जस्तै देखिने पातलो छाता टेक्दै ओह्रालो खेतको डिलैडिल बखुन्डोलबाट कोपुन्डोल कानदेउतास्थानको बसस्टपसम्म पुग्ने गर्थ्यौं ।
गर्मीको बेला कहिलेकाहीं प्यान्ट र पूरा बाहुलाको सर्ट मात्रै लगाएर पनि हिड्नु हुन्थ्यो । त्यतिबेला टोपी लगाउनु हुन्थेन र प्यान्टको दायां पट्टीको खल्तीमा सेतो रुमालको टुप्पो बाहिर अरुले देख्नेगरी राख्ने गर्नुहुन्थ्यो । यसरी हामी पाटनतिरबाट आउने साझाबस वा नेपाल ट्रान्सपोर्टको बसबाट नयांसडक पुग्ने गर्दथ्यौं ।
धपक्क अनुहार, उज्वल ललाट र हिउं जस्तो सेत्तै भैसकेका कपाल अनि सुरुचीपूर्वक लगाइएको पोशाक सहितको किसुनजीलाई बसमा चढेको देख्दा अरु यात्रुहरु जिल्ल परेर हेर्थे, कोही कोहीले नमस्कार गर्थे, धेरैजसो बस्ने सीट पनि खाली गरिदिन्थे । किसुनजी बसमा चढ्ने र ओर्लने बेलामा ड्राइभर र कन्डक्टरले विशेष ख्याल गरेको हो कि जस्तो मलाई अनुभव हुन्थ्यो, किनभने वहां राम्रोसंग चढेको वा ओर्लेको ढुक्क भएपछि मात्रै बस अगाडि बढाएका हुन्थे ।
सुन्धारानिर बसबाट ओर्ले पछि छातालाई टक् टक् टेक्दै किसुनजी धेरैजसो नयांसड्कको गेटबाट सीधा जुद्धसमसेरको सालिक निर रहेको सिद्धिनारायण मानन्धरको मर्फी रेडियोको साइनबोर्ड झुन्ड्याइएको रेडियो मर्मत पसलमा पुग्नुहुन्थ्यो । त्यहाँ संधै आठ दश जना जति युवाहरु किसुनजीलाई कुरीरहेका हुन्थे ।
गुल्मीका प्रेमनाथ अर्याल, पोखराका नीलकण्ठ शर्मा, काठमाण्डौ सिफलका पुरुषोत्तम बस्नेत, प्रेमध्वज बस्नेत, दोलखाका भवेन्द्र खड्का, शेरबहादुर देउवा, शंकर धिमिरे, शिवबहादुर खड्का, नुतन थपलिया, ध्यानगोविन्द रन्जित, श्यामलाल श्रेष्ठ, ध्रुवराम भण्डारी तथा आक्कल झुक्कल दमन ढुगांना, नुवाकोटका रामशरण महत, अर्जुन नरसिंह केसी, स्यांग्जाका गोपालमान् श्रेष्ठ, तनहुंका रामचन्द्र पौडेल, गोरखाका चिरन्जीवी वाग्ले, बीरगन्जका देवेन्द्रलाल नेपाली, सिन्धुलीका विपिन कोइराला, सोलुखुम्बुका बलबहादुर केसी जस्ता युवाहरु हुने गर्दथे । झन्डै आधा घन्टा सिद्धिनारायणजीको पसलमा विताएपछि सवैलाई लिएर कहिले इन्द्रचोक मखनको बीचमा रहेको शिवप्रसाद रौनियारको कोन्टी रेस्टुरामा, कहिले भूगोलपार्कसंगै टांसिएको खुला भर्याङ चढेर पुग्नुपर्ने काठमाण्डौका संभ्रान्तहरुले बढी रुचाइएको ईन्दिरा रेस्टुरामा चिया खान लिएर जानुहुन्थ्यो ।
भोक लागेको अनुभव भएमा कहिलेकाहीं पकौडा वा समोसा सवैलाई भाग पुग्ने गरी मगाइन्थ्यो । यसरी सामुहिक चियामा झन्डै एक घन्टा विताएपछि पैसा तिर्ने बेलामा कहिलेकाहीं मात्रै किसुनजीले तिर्नुपर्ने हुन्थ्यो । धेरै जसो पुरुषोत्तम वा प्रेमध्वज बस्नेत, प्रेमनाथ अर्याल र नीलकण्ठ शर्माले तिर्ने गरेको देख्थें मैले ।
चिया पछि किसुनजीसंगै सवैजना नयांसडक रन्जना सिनेमाहलजाने बाटोको मोडमा रहेको पत्रिका पसल सन्देश गृहमा पुग्ने गर्थे । किसुनजीले टाइम्स अफ इन्डिया लिने गर्नुहुन्थ्यो । त्यसपछि सवैजना जसो किसुनजीसंग विदा लिएर आ–आफ्नो गन्तव्य तिर लाग्थे । म र प्रेमनाथ अर्याल बहुधा किसुनजीसगैं हुन्थ्यौं, किसुनजी फर्किने बेलामा धेरैजसो खिचापोखरी धरहरा त्रिपुरेश्वर कानदेवताथान हुंदै पुनः त्यही बखुन्डोलको उकालो उक्लेर भान्दाईको घर फर्कने गर्नु हुन्थ्यो । म पनि सगैं रहेको बेला बागमतीको पूल वारीबाटै प्रेमनाथ अर्याललाई फिर्ता पठाइदिनु हुन्थ्यो, म चाही भान्दाईको घरसम्मै पुग्थे, एक छिन बसेर पुरानो बानेश्वर घर फर्कने गर्थें ।
एकपल्ट, सम्भवतः असोज महिनाको पहिलो हप्ताको एक दिन किसुनजीकहां म र प्रमोद पराजुली त्यसैगरी पुग्यौं । त्यसदिन किसुनजीलाई केही मलिन जस्तो देख्यौं हामीले । आफ्नो साविक रुटिन अनुसार किसुनजीले दौरा सुरूवाल कोट र हातमा छाता लिनुभयो, हामी तीनैजना बखुन्डोलको ओह्रालो ओर्लिदै कानदेउताथानमा बस चढेर नयांसडक सिद्धिनारायणजीको रेडियो पसलमा पुग्यौं । त्यहां त्यो दिन भवेन्द्र खड्का, शिवबहादुर र बिपिन कोइराला मात्र थिए । त्यसदिन कोन्टी रेस्टुरामा खाएको चियाको पैसा भवेन्द्रले तिरे । साविक बमोजिम सन्देश गृहबाट टाइम्स अफ इन्डिया लिएपछि सवैजनाले किसुनजीसंग विदा लिए ।
म र किसुनजी मात्रै खिचापोखरीको बाटो फर्किंदै थियौं । किसुनजीले मतिर हेर्दै आज केही थकाई लागेको अनुभव भएको छ, ट्याक्सीबाट फर्किने हो कि भन्ने कुरा गर्नुभयो, खल्तीमा कति पैसा छ भनेर सोध्नुभयो । मसंग त्यस्तै दश बाह्र रुपियां थियो, त्यति नै छ भने । त्यतिखेर काठमाण्डौमा स्कुट वे कम्पनीले पहिलोपल्ट मिटरबाट भाडा उठाउने गरी भर्खरै ट्याक्सीहरु संचालनमा ल्याएको थियो । नयांसडकबाट बखुन्डोलसम्म त्यसबेला मुश्किलले बीस वा पच्चिस रुपियांभन्दा बढी लाग्दैनथ्यो ।
आफुसंग भएको पैसा थप्दा पनि सायद नपुग्ने बुझेर किसुनजीले साविक झैं पैदल नै फर्कने निर्णय गर्नुभयो, हामी पैदलै खिचापोखरी तिर लाग्यौं । खिचापोखरीको डबली पार गरेर अगाडि मात्रै के बढेका थियौं, एकजना व्यक्ति कृष्णप्रसादजी भन्दै केही टाढाबाट चिच्याउंदै हामी तिर आइरहेको देख्यौं । किसुनजी रोकिनुभयो, नजिकै आएर त्यस व्यक्तिले अत्यन्त नम्रताकासाथ दुइ दिन अगाडि भेट्ने बाचा पूरा गर्न नसकेकोमा क्षमा माग्यो र मतिर हेरेर केही क्षण चूप रह्यो ।
किसुनजीले यो मेरो भतिजो, गोपालदाईको छोरो, एम. ए. मा पढ्दैछ भनेर मेरो परिचय गराएपछि ऊ आश्वस्त भयो । तत्कालै दायां बायां हेरर आफ्नो भित्री खल्तीबाट भुक्क उठेको मोटो खाम किसुनजीलाई दियो । ‘तपाईंले भनेको पचासै त पुर्याउन सकिन, तर यसमा चालिस पुर्याएको छु, बांकि दश पनि केही दिन पछि पुर्याउला’, उक्त व्यक्तिले हात जोडेर भन्यो । दिउसो मलिन देखिनुभएका किसुनजी, केही समय अगाडि मात्रै थकान अनुभव गरेर ट्याक्सीमा फर्कने सोच बनाउनु भएका किसुनजीको अनुहार अत्यन्त हसिलो भयो, प्रफुल्लित मुद्रामा वहांले ‘पार्टीका लागि ठूलो सहयोग’ भएको भन्दै उक्त व्यक्तिप्रति कृतज्ञता प्रकट गर्नु भयो ।
ती व्यक्ति फर्किए, हामी अगाडि बढ्यौं । धरहरा नाघेपछि किसुनजीले त्यस व्यक्तिको नाम बताउनु भयो, ती थिए उद्योगपति जुद्धबहादुर श्रेष्ठ । पार्टीलाई अपठेरो परेको बेला आर्थिक सहयोग गर्ने मनकारी व्यक्ति भएको कुरा पनि वहांले भन्नुभयो । मैले तपाईंलाई थकान अनुभव भएको कुरा गर्नुभएको थियो अघिमात्रै, अब त ट्याक्सीमा फर्केपनि त हुन्छ नी भने । वहांले तत्काल कोटको भित्रि खल्ती देखाउंदै भन्नुभयो, ‘हेर बाबु यो बांया तिरको खल्ती मेरो व्यक्तिगत खल्ती हो, दांया तिरको खल्ती पार्टीको खल्ती हो । जुद्ध बहादुरले दिएको खामबन्दी मेरो दांया खल्तीमा रहन्छ, त्यसबाट एक पैसा पनि दायां बायां गर्नुहुन्न । नख्खु, भद्रगोल र सेन्ट्रल जेलमा रहेका साथीहरुका धेरै आवश्यकताहरु यसबाट पूरा गर्नु परेको छ । उनीहरुले हरेका दिन मकहां खबर पठाइराख्या छन् ।’
त्यो दिन हामी बस नै चढेर कानदेउताथान सम्म आर्यौ । त्यहांबाट पुनः बखुन्डोलको उकालो गोरेटे हुदै भान्दाईको घर पुग्यौ । केही क्षण पछि म पनि किसुनजीसंग विदा हुन उठें । मलाई रोक्तै वहांले ‘पांचसय चाहीं तैंलै फुर्सत निकालेर मनमोहन अधिकारीकहां पुर्याइदिनु है, एक दुई दिन मै’ भन्नु भयो । मैले हवस् भनेर घर फर्के ।
** **
(“प्रजातान्त्रिक विचार समाज” द्वारा प्रकाशित “चिन्तन – किसुनजी विशेष – २०७३” नामक विशेष अङ्कमा यो लेख प्रकाशित भएको थियो।
किसुनजीका भतीज बिनोद भट्टराईले “किसुनजी मेरो राजनीतिक गुरु” शीर्षकको यो लेख वरिष्ठ राजनीतिज्ञ जयप्रकाश आनन्दले सामान्य सम्पादन गरेका हुन् । तस्वीरमा किसुनजीका साथ बिनोद भट्टराई) सं.