भारतीय पक्षको कमजोरीले नेपालमा कोरोना संक्रमण फैलियोः नेता प्याकुरेल

राजविराज, १५ साउन । राष्ट्रिय सभा सदस्य समेत रहेका नेकपाका नेता सुमनराज प्याकुरेलले भारतीय पक्षले आफ्नो प्रतिवद्धता पुरा नगरेका कारण नेपालको सिमावर्ती जिल्लाहरुमा कोरोना संक्रमण फैलिएको दावी गरेका छन् ।

सप्तरीको राजविराजमा विहीबार आयोजित पत्रकार भेंटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकार कोरोना संक्रमण नियन्त्रणमा अन्य देशको दाँजोमा सफल रहे पनि भारतीय पक्षले पीसीआर परीक्षण नै नगराई नेपाली नागरिकलाई पठाएकोले कोरोना संक्रमण फैलिएको नेता प्याकुरेलले दावी गर्दै भने ‘भारत सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई पीसीआर परीक्षण बिना जान नदिने र नेपालले समेत भारतीय नागरिकलाई परीक्षण बिना जान नदिने प्रतिवद्धता थियो तर भारतले एकैपटक धेरै संख्यामा बोर्डरमा ल्याएर नेपालीहरुलाई राखिदियो ।’

सिमामा आईसकेका व्यक्तिहरु मुख्य नाकाहरु छलेर खेतको बाटो भएर प्रवेश गरेको तथा तीनीहरुमध्ये केही जाँच नै नगराईकन गाउँघरमै लुकेर बसेकोले सुरक्षित रहेका व्यक्तिहरुमा समेत सरेको उनले तर्क गरे । सप्तरीमा कोरोना संक्रमण बढ्नुमा राजविराजका एक प्रतिष्ठित व्यापारीको गैरजिम्मेवारीपना तथा वडा अध्यक्ष समेतको लापर्वाहीका कारण यस्तो भयावह अवस्था श्रृजना भएको बताउँदै उनले भने ‘आफुलाई जिम्मेवार भनाउने व्यक्तिहरुकै लापर्वाहीकै कारण राजविराज नगरपालिकामा कोरोना संक्रमण फैलिएको हो ।’

‘भारत सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई पीसीआर परीक्षण बिना जान नदिने र नेपालले समेत भारतीय नागरिकलाई परीक्षण बिना जान नदिने प्रतिवद्धता थियो तर भारतले एकैपटक धेरै संख्यामा बोर्डरमा ल्याएर नेपालीहरुलाई राखिदियो ।’

कोरोना भाइरसबाट अत्यधिक डराउनु भन्दा पनि सतर्कता आवश्यक रहेको भन्दै शुरुक दिनहरुभन्दा हाल सजगता घटेको उनको तर्क थियो । महामारीको अवस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मीहरुको भूमिका प्रसंशनीय रहेको बताउँदै उनले भने ‘यतिबेला नकारात्मक भन्दा पनि सकारात्मक अर्थात राम्रा कार्यहरुको प्रसंशा हुनु आवश्यक छ ।’

नेकपाभित्र देखिएको आन्तरिक विवादलाई सामान्य रुपमा लिन नमिल्ने भन्दै यसको समाधान आवश्यक रहेको नेता प्याकुरेलले बताए । दुई तिहाई बहुमतको सरकारमा यस्तो अवस्था देखिनु भनेको संघीय शासन व्यवस्थामाथिकै सम्भावित खतराको संकेत रहेकोले जसरी भए पनि यसको समाधान आवश्यक रहेको उनको भनाइ थियो ।

विषम् परिस्थितिमा पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक कार्यहरु गरेको दावी गर्दै उनले भने ‘ओली नेतृत्वको सरकारले विकासको नक्सा कोर्न सफल भएको छ, यही अबका २० वर्षसम्मको गाइडलाइन हुनेछ र यही गाइडलाइनमै देशको मुहार फेरिन्छ ।’ अबको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने जनप्रतिनिधिहरुले सडक बनाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै सबै पक्षले वर्तमान सरकारलाई नै सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

राजनीतिमा ६० वर्ष पुगेका नेताहरुले स्वतः सक्रिय राजनीतिबाट अवकाश लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो । पहिलो श्रेणीका नेताहरुले अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘पहिलो श्रेणीका नेताहरुले गार्जियन भएर बस्नुपर्छ र दोस्रो पुस्तालाई हस्तातरण गर्नुपर्दछ ।’

कार्यक्रममा नेकपाका प्रदेश समिति सदस्य सुखराम यादवले सप्तरी जिल्लाको विविध पक्षहरुबारे नेता प्याकुरेललाई जानकारी गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस