राजविराजका समुदायमा यसरी फैलियो कोरोना [विशेष रिपोर्ट]

राजविराज,०९ साउन । कोरोना संक्रमणको कहरले यतिवेला सदरमुकाम राजविराजका सर्वसाधारणमा खेप्नै नसक्ने त्रास छ भने जिल्लाभर कौतुहलता पैदा भएको छ । जिल्लाका अधिकांश व्यक्तिहरु सदरमुकामसँग जोडिएकाले आफुहरु पनि संक्रमितको सम्पर्कमा आएको हुनसक्ने सर्वसाधाणहरुमा देखिएको शंकाले उनीहरुमा कौतुहलता पैदा हुनु पनि अस्वभाविक होइन ।

अर्कोतर्फ समुदायस्तरमै संक्रमण तीव्र रुपमा बढ्दै गएको छ पनि । यो समाचार तयार पार्दासम्म समुदायस्तरकै २९ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालयको भनाई छ । कोरोना नियन्त्रण तथा रोकथामका निम्ति सरकारले गत चैत्र ११ गतेदेखि थालेको बन्दाबन्दी पनि गत मंगलवार मध्येराति (साउन ०६) बाट अन्त्य भएको घोषणा नै गरिसकेको छ ।

मुलुक बन्दाबन्दीको १ सय २० दिन वितिसक्दासम्म सप्तरीमा संक्रमण नियन्त्रण नभएको पनि होइन । तर, यतिवेला भने सदरमुकाम राजविराजमा संक्रमणको अवस्था कहाली लाग्दो छ । आखिर के कारणले यस्तो अवस्था सृजना भयो?, संक्रमण फैलाउनमा कसले हेलचक्रयाई/लापरवाही गरे?, सम्वन्धित निकाय किन मौन छन?…यस्ता दर्जनबढी प्रश्न उब्जिएको छ ।

यी प्रश्नहरुको खोजी गर्दै जाँदा जनप्रतिनिधिको लापरवाहीका कारण राजविराजका समूदायस्तरमा संक्रमण फैलिएको खुलेको छ । पत्नीको उपचारकालागि भारत पुगेका मृतक व्यापारीलाई नेपाल भित्र्याउनेदेखि ‘होम क्वारेन्टाइन’मा बस्न लगाउनेसम्ममा जनप्रतिनिधिकै संलग्नता देखिएको र व्यापार गर्न समेत छुट दिइएपछि समूदायस्तरमा संक्रमण पुगेको बाहिरिएको हो ।

गत साउन १ गते राजविराज नगरपालिका–६ का एक ७३ वर्षीय ब्यापारीको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृतकका परिवार तथा सम्पर्कमा पुगेका व्यक्तिहरुको परीक्षण थालियो । पहिलो चरणमा परिवारका ५ जना सदस्य, दोश्रोमा २ जना कामदार तथा छिमेकी हुँदै तेश्रो चरणमा समुदायस्तरमा संक्रमण तीव्र रुपमा बढ्दै गएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

त्यसपछि संक्रमण नियन्त्रण गर्न नगरपालिकाले बुधवारदेखि वन्दाबन्दी आह्वान गरे भने जिल्ला सुरक्षा समितिको बुधवारै बसेको आकस्मिक बैठकले विहिवार विहानबाट नगर क्षेत्रभरि अनिश्चितकालिन निषेधाज्ञा जारी गरियो । तर अझैसम्म सम्वन्धित निकायले सर्वसाधारणलाई वस्तुगत अवस्थाका विषयमा ढुक्क पार्न सकेको छैन ।

यसरी फैलियो कोरोना?
गत असार १५ गते घर फर्किएका व्यापारीलाई वडाअध्यक्ष प्रेमकुमार यादवले नै नेपाल प्रवेश गराएर ‘होम क्वारेन्टाइन’मा बस्न लगाएको र स्वास्थ्य कार्यालयलाई जानकारीसम्म नगराएका कारण यस्तो अवस्था सृजना भएको कार्यालयले जानकारी दिए । प्रमुख दुनीयालाल यादवले भने–‘घर फर्किए लगत्तै हामीलाई जानकारी नै गराएन, वडा अध्यक्षले गलती गरेकै हो, त्यस कारणले यस्तो अवस्था सृजना भयो ।’

अर्कोतर्फ ‘होम क्वारेन्टाइन’मा बस्न लगाइएपनि जनप्रतिनिधिले निगरानी गर्न नसक्दा व्यापारीले जनसम्पर्ककासाथै पसलमा बसेर व्यापार नै गर्न थालेपछि समूदायस्तरमा संक्रमण फैलिएको स्थानीयहरुको आरोप छ । उता, जिल्ला प्रशासन कार्यालयले पनि उपचारबाट घर फर्किएका व्यापारी र उनका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको विषयमा वडा अध्यक्ष यादवले नै टेलिफोनमार्फत जानकारी गराएको स्पष्ट गरे । ‘ वडाअध्यक्षकै निगरानीमा उहाँहरुलाई होम क्वारेन्टाइनमा राखिएको कुरा वडा अध्यक्षले नै टेलिफोनमार्फत हामीलाई जानकारी गराउनुभयो’ जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्दकुमार ठाकुरले भने–‘बाँकी उहाँहरु सोही अवस्थामा पसल चलाउनु कि भएनबारे हामीलाई जानकारी छैन्।’

के भन्छन् जनप्रतिनिधि?
राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले वडा अध्यक्षमाथि लगाइएको आरोप निराधार रहेको प्रतिक्रिया दिए । ‘मैले वडा अध्यक्षसँग टेलिफोनमा कुरा गरे, वडा अध्यक्षकाअनुसार उहाँको कुनै संलग्नता छैन’ उनले भने–‘भन्नुहुन्छ भने उहाँहरु पूरै परिवार कारमै आउनुभो, अब बोर्डरमा रोकटोक गर्ने काम त प्रशासनको हो, किन रोकेन प्रशासनले?’

स्मरणहोस्, मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १०४ को उपदफा १ बमोजिम कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने वा फैलिनसक्ने कार्य गर्न पाइँदैन भने उपदफा २ मा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई लापरवाहीपूर्वक गरेको भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Author:



क्याटोगरी छान्‍नुहोस