सप्तरीका ईन्जिनियर आदित्यलाई डोमेन बन्द गर्न मन्त्रालयको धम्की

राजविराज, १० साउन । ‘ईडिजिटल नेपाल’ स्टार्टअप कम्पनीका संस्थापक सप्तरीका युवा इन्जिनियर आदित्य राजलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डोमेन बन्द गर्ने धम्की दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका इन्जिनियर प्रवेश कोइरालाले उनलाई फोनबाट मन्त्रालय बोलाएर बुधबार धम्की दिएका हुन् । काठमाण्डौमा बसेर आदित्यले सूचना प्रविधिको क्षेत्रमा उदाहरणीय कामहरु गर्दैआएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कम्प्युटर इञ्जिनियर कोइरालाले फोनमार्फत आदित्यलाई मन्त्रालय आउन आग्रह गरेका थिए । उनी त्यहाँ पुगेपछि डिजिटल नेपालको फ्रेमवर्क बुक थमाउँदै अब डिजिटल नेपाल शब्द प्रयोग गर्न नपाईने अविलम्ब कम्पनीको नाम र डोेमेन दुवै परिवर्तन गर्न आदेशात्मक शैलीमा आफुलाई भनेको ई. आदित्यले बताए ।

उनका अनुसार मन्त्रालयका उपसचिव शिवकुमार पोखरेलले अविलम्ब परिवर्तन नगरिए आफुहरुले नै बन्द गरिदिने चेतावनी दिएका छन् । गूगलमा ‘डिजिटल नेपाल’ सर्च गर्दा आदित्यको ईडिजिटल नेपाल कम्पनी नै अगाडि आउने गरेकोले नेपाल सरकारको डिजिटल नेपाल अभियान पछाडि परेको मन्त्रालयको दावी छ । अत्यधिक भिजिट ईडिजिटलमा हुने भएको पाईएको आफै वेबसाइट बन्द गरी कम्पनीको नाम परिवर्तन नगरिए आफुहरुले पत्र काटेर बन्द गर्ने धम्की दिएको जनाईएको छ ।

शुरुदेखि अत्यन्तै संघर्ष गरी अगाडि बढ्दैआएका ई. आदित्यले आफु नेपाल सरकारकै नियम कानून एवम् प्रावधानलाई आत्मसात गर्दै विधिवत कम्पनी दर्ता गरी ईडिजिटल नेपाल सञ्चालन गर्दैआएको बताए । गूगल सर्चमा अगाडि आउनकालागि अत्यधिक मेहनत र लगानी समेत गरेको जानकारी दिँदै उनले भने ‘ मैले कुनै गलत गरेको छैन, म जहाँ पनि उभिन तयार छु, म न्याय पाउनेमा विश्वस्त छु ।’

वर्षौदेखि मेहनत र लगानीलाई समाप्त पार्ने षडयन्त्र भईरहेकोले यस्ता षडयन्त्रबाट आफु रतिभर भयभित नभएको ई. आदित्यले जानकारी दिए । सूचना प्रविधिको माध्यमबाट आफुले शिक्षा र सञ्चार क्षेत्रमा काम गरी सरकारलाई नै सघाउदै आएको उनले बताए । सूचना प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरी पटक पटक राष्ट्रिय रुपमै सम्मानित भईसकेका ई. आदित्यले भने ‘कुनै पनि हालतमा डोमेन र कम्पनीको नाम फेर्दैनौं, फेरी नयाँ शिराबाट काम शुरु गरी स्थापित हुन लगानी मात्र नभई वर्षौं समय लाग्नसक्छ त्यसैले यस्तो कार्य हामीलाई कदापि मान्य हुदैन ।

ई. आदित्यले २०७५ सालमा कम्पनी रजिस्टारको कार्यालयमा ईडिजिटल नेपाल प्रालिको नाममा कम्पनी दर्ता गराएर स्टार्टअप व्यवसाय थालेका थिए । २०७६ जेठमा काडमाडौं महानगरपालिकाले ‘स्मार्ट अर्बन टेक्नोलोजी च्यालेञ्जः हाम्रो काठमाडौं, हामी बनाउँछौँ’ नामक एउटा प्रतिस्पर्धाको आयोजना गरेको थियो । जसमा विभिन्न ४४० वटा कम्पनीले आवेदन दिएकोमा चार वटा समूहमा भएको उक्त प्रतिस्पर्धाको विजेताको रुपमा छानिएका चार वटा कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आफ्नो आईडिया प्रस्तुत गरेका थिए । ‘सामुदायिक समूह’तर्फ आदित्यको ईडिजिटल स्टार्टअपले विजेताको रुपमा प्रधानमन्त्री ओलीबाट ट्रफी सहित दुई लाख रुपैयाँ नगद पुरस्कार समेत हात पारेका थिए ।

काठमाडौं महानगरपालिकाभित्रका ९० वटा सामुदायिक विद्यालयलाई डिजिटल बनाउने आईडिया प्रस्तुत गरेर ईडिजिटललाई त्यो सफलता पाएका छन् । उक्त प्रतिस्पर्धाका लागि मात्रै आफ्नो स्टार्टअपले छ महिना लामो इन्क्युबेसनमा आफ्नो आईडिया पिच गराएको ई. आदित्यको भनाई छ । २०७६ साउन ३० मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको हातबाट ईडिजिटलल आईसिटी स्टार्टअप अवार्ड हा पार्न सफल भएका थिए ।

ई. आदित्यको डिजिटल नेपाल स्कूल म्यानेजमेन्ट सफ्टवेयर देशका छ सय भन्दा बढी विद्यालय तथा क्याम्पसहरुमा प्रयोग भइरहेको छ । जसमा डीएभी, बुढानिलकण्ठ, ह्वाइटहाउस, निस्ट, कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स, खोप कलेज, पेन्टागन जस्ता ख्यातिप्राप्त शैक्षिक संस्था सहित ३५ जिल्लाका विद्यालय तथा क्याम्पसहरु आवद्ध रहेको जनाईएको छ ।

उनका अनुसार सरकारी डोमेन ‘डिजिटल नेपाल डट जीओभी डट एनपी’ खाली छ । यस्तै ‘डिजिटल नेपाल डट कम डट एनपी’ डोमेन समेत खाली रहँदारहँदै आफुलाई दुःख दिने नियतले नै अनावश्यक तनाव थप्ने गरेको उनको भनाइ छ । आफुमाथि अन्याय गर्ने नियोजित षडयन्त्र भईरहेकोले सहयोगकालागि ई. आदित्यले सबै पक्षसँग आग्रह गरेका छन् ।

देशमै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने उत्कृष्ट हिरोहरुमध्येका एक ई.आदित्य सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बभनगामा कटी निवासी हुन् । उनी तत्कालिन जिल्ला विकास समितिका कर्मचारी शहिद प्रभुनारायण यादव (ना.सु.)का कान्छो छोरा हुन् । जेठो छोरा राधेश्याम यादव विष्णुपुर गाउँपालिकामा आ.ले.प. शाखा प्रमुखमा कार्यरत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस