कोरोना नियन्त्रण उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीको निर्देशन

राजविराज, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा रहेकोले संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

कोरोना संक्रमणको वस्तु स्थिति तथा तयारीबारे निरीक्षणका क्रममा सप्तरीको राजविराजमा सोमवार आयोजित सरोकारवालाहरुसँगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई समेत थाती राखेर जनताको जीवन जोगाउने कार्य प्रमुख रहेको बताउँदै उनले भने ‘विकास निर्माण भन्दा जनताको जीवन जोगाउनु आवश्यक छ, यसकालागि सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ ।’

राजविराजमा आयोजित ‘कोरोना नियन्त्रण तथा रोकथाम विषयक छलफल’ कार्यक्रममा सहभागी मुख्यमन्त्रीसहितका पदाधिकारीहरु ।
राजविराजमा आयोजित ‘कोरोना नियन्त्रण तथा रोकथाम विषयक छलफल’ कार्यक्रममा सहभागी मुख्यमन्त्रीसहितका पदाधिकारीहरु ।

सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउनकालागि मेसिन समेत थप्ने तयारी भईरहेको उनले बताए । स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, ग्लोभ्स, स्यानिटाइजर, औषधीसहित अन्य अभावलाई कमी हुन नदिन आवश्यक रकमको प्रबन्ध मिलाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । न्यून श्रोत साधनका बिच कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि एवम् कर्मचारीहरुले निभाएको भूमिकाको उनले प्रशंसा गरे ।

सोही क्रममा सप्तरीमा नदी कटान एवम् डुबानको समस्याबारे चर्चा गर्दै उनले बलान नदी नियन्त्रणकालागि तत्काल बजेट उपलब्ध गराउने घोषणा गरेका छन् । दिर्घकालिन रुपमा नदीजन्य एवम् डुबानको समस्या समाधानकालागि मास्टर प्लान बनाएर अगाडि बढ्न सुझाव दिँदै मुख्यमन्त्री राउतले भने ‘मास्टर प्लान बनाएर ल्याउनुस्, हामीले बजेटको व्यवस्थापन गर्छौं, थप बजेट आवश्यक परे संघीय सरकार लगायत दातृ निकायसँग समन्वय गरेर अगाडि बढ्छौं ।’

कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरी आफ्नो गृह जिल्ला भएको चर्चा गर्दै कुनै पनि हालतमा कोरोना नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । जिल्लामा कुनै पनि उपकरण वा अन्य सामग्रीको अभाव हुन नदिन आफु सचेत रहेको आवश्यक परेको बेला माग गर्न उनले मातहतका निकायलाई निर्देशन दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, नेकपाका सुखराम यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजीत कुमार झा, स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादव, नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य अवधेश कुमार झा, पीसीआर ल्याबकी प्रमुख पूनम यादव लगायतले जिल्लाको अवस्थाबारे मुख्यमन्त्रीलाई अवगत गराए ।

Author:



क्याटोगरी छान्‍नुहोस