सप्तरीमा शत प्रतिशत धान रोपाई

Saptari-Agriculture

राजविराज । यस वर्ष समयमै वर्षा भएका कारण सप्तरी जिल्लामा शत प्रतिशत रोपाई भएको छ ।

जेठ महिनादेखि नै नियमित वर्षा भईरहेका कारण किसानहरुले असारको पहिलो सातादेखि नै रोपाई शुरु गरी सम्पन्न समेत गरिसकेको हो । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र यादवका अनुसार शुरुमा केही किसानले पम्पीङ्ग सेट, भपलेटर, मोटर ईत्यादी प्रयोग गरि रोपाई थालेको र त्यसपछि निरन्तर वर्षा भएकोले यो वर्ष रोपाई समयमै सम्पन्न भएको छ ।

विगतका वर्षहरुमा समयमा वर्षा नहुँदा रोपाई ढिलो हुने गरेको तथा रोपाई समेत पूर्ण रुपमा हुन नसक्दा बाँझो खेत रहने गरेकोमा यो वर्ष यस्तो समस्या नरहेको उनले बताए । यसरी नै समयमा वर्षा भईरहे उब्जनी समेत राम्रो हुने कार्यालय प्रमुख यादवको भनाई छ । यद्यपी मलखादको अभाव रहेको तथा अत्यधिक वर्षाका कारण केही भूभागमा लगाईएको धान खेतमा लामो समयसम्म पानीले गर्दा डुबानमा परेको उनले जानकारी दिए । केही धान खेत समेत नदी कटानमा परेको जानकारी दिँदै कार्यालय प्रमुख यादवले भने ‘समग्रमा यो वर्ष धान खेतीकालागि राम्रै हुनेमा हामी आशावादी छौं ।’

सप्तरी जिल्लामा सिंचित ४० हजार र असिंचित ३० हजार हेक्टर गरी कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेकोमा ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । नेपालमा कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश दुईमै हुँदै आएको छ । पछिल्लो वर्ष प्रदेश नम्वर दुईमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पान भएको भूमी व्यवस्था तथा कृषि मन्त्रालय श्रोतले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस