यातायातमा जोर-विजोर प्रणाली लागू गर्ने निर्णय

जनकपुरधाम । सरकारले विहिवारबाट यातायातमा जोर–विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बुधवार गृहमन्त्रालयमा बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेकाले महामारी नियन्त्रण गर्नकालागि जोर–विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

लामो बन्दाबन्दी (लकडाउन) पछि गत जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । गत असार २६ गतेबाट भने निजी सवारी साधनको जोर विजोर सरकारले हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो ।

अब भने विहिवारबाट देशभर सार्वजनिक र निजी सबैमा जोर–विजोर लागू हुनेछ । गृहमन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि छ ।

यसैगरी, काठमाण्डौ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालक समेतलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस