सञ्चारकर्मीहरुप्रति अभद्र टिप्पणी गर्नेलाई कार्वाहीको माग

राजविराज, २४ साउन । सप्तरीको राजविराज स्थित साइकृष्णा अस्पतालको आइसोलेसन रहेका राजविराज नगरपालिका वडा नम्वर ३ का मो. मुस्तकिमले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीहरुप्रति गरेको अभद्र र निकृष्ट टिप्पणीप्रति नेपाल फोटो पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ ।

महासंघका सचिव विद्यानन्द रामले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्ता अभद्र, निकृष्ट र गैर जिम्मेवार अभिव्यक्तिको कडा शब्दमा घोर निन्दा एवम् भत्र्सना गरेका हुन् । आइसोलेशनमा सुरक्षा र निगरानीकालागि जडान गरिएको सिसी क्यामरामध्ये ३ वटा क्यामरा केही संक्रमितले फुटाई दिएको कुरा स्वयम् आइसोलेसन व्यवस्थापन पक्षबाट जानकारी गराइएको विज्ञप्तिमा जनाईएको छ । सोही जानकारीका आधारमा राजविराज दैनिक पत्रिकाको अनलाइन संस्करणले मात्र नभई अन्य स्थानीय तथा राष्ट्रिय दैनिक पत्रिका र टिभिले समेत समाचार प्रकाशन प्रशारण गरेको जनाउँदै सचिव रामद्वारा प्रेषित विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसरी तोडफोड गरिएका उक्त सिसी क्यामरा मर्मतकालागि झिकाई नयाँ जडान गरिसकिएको आइसोलेसन व्यवस्थापन पक्षले जानकारी गराएको स्पष्ट पार्न चाहन्छौ ।’

यसरी नयाँ जडान गरिएका सिसी क्यामराको फोटो खिचेर सामाजिक सञ्जालमा राखेर आफुहरुले न फोडेको भन्नु सर्वसाधारणलाई भ्रममा पार्नुका साथै अत्यन्तै तल्लोस्तरमा उत्रेर ञ्सचारकर्मीहरुलाई बदनाम गर्न खोजिएको महासंघले ठहर गरेको छ । यसका साथै राजविराजबाट सञ्चालित अन्य सञ्चारमाध्यममा समेत अस्पताल प्रशासनले दिएको जानकारी अनुसार नै आइसोलेशनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमाथि समेत केही संक्रमितले अभद्र व्यवहार तथा अश्लिल शब्दहरु प्रयोग गरि लखेटेको विषयमा समाचार सम्प्रेशन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्वयम व्यवस्थापन पक्ष तथा पीडितहरुले पीडा सुनाएको आधारमा समाचार सम्प्रेशन गरिएको प्रष्ट पार्दै उनले केही उच्छृखल संक्रमित व्यक्तिद्वारा निरन्तर भइरहेको अराजकतापुर्ण क्रियाकलाप रोक्न तथा सञ्चारकर्मीहरुप्रति निकृष्ट शैलीमा र अत्यन्त आपत्तिजनक शब्दको प्रयोग गर्नेहरुमाथि कडा कारवाही गर्न सम्बद्ध निकायसँग माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस