विश्वकप छनोट खेल पुनः स्थगित

जनकपुरधाम । कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू पुनः स्थगित भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ ।

सन् २०२२ मा आयोजना हुने भनिएको खेल यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा हुने तय भएको थियो । नेपालले अक्टोबर र नोभेम्बरमा हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गते देखि सुरु गर्न लागेको थियो । प्रशिक्षण सञ्चालनका लागि एन्फाले खेलाडीको पीसीआर परीक्षणसमेत गरिसकेको छ ।

अधिकांश देशले कोरोनाको बढ्दो संक्रमणका कारण छनोट खेल खेल्न नसक्ने बताएपछि फिफा र एएफसीले सन् २०२१ मा मात्र छनोट खेल खेलाउने निर्णय गरेका हुन् । कोरोनाका कारण अधिकांश देशले अन्तर्राष्ट्रिय आवागमनमा समेत प्रतिबन्ध गरेका छन् ।

विश्वकप छनोट खेलअन्तर्गत नेपाल एसियाली देशको समूह ‘बी’मा छ । नेपालले समूहमा अब तीनवटा घरेलु खेल खेल्न बाँकी छ । यसअघि नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोडर्नसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो । त्यसअघि चैतका लागि पनि तय भएको छनोट खेल कोरोनाकै कारण स्थगित भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस