प्रदेशभरिका खेलाडीलाई कोरोना बिमा गरिने

राजविराज, ३२ साउन । प्रादेशिक क्रिकेट संघ, प्रदेश २ ले प्रदेशभरिका खेलाडीहरुको कोरोना बिमा गर्ने निर्णय गरेको छ । संघको शनिवार सम्पन्न अनलाइन अन्तक्रियाबाट सो निर्णय गरिएको हो ।

प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षता तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश सदस्य रोशन सिंहको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपायबारे जनचेतना गराउनुकासाथै प्रदेशका नियमित पुरुष तथा महिला खेलाडीहरुको कोरोना बिमा गर्ने निर्णय भएको छ ।

अन्तरक्रियाबाटै प्रदेश मातहतमा रहेका सम्पुर्ण ८ वटै जिल्लाका नियमित खेलाडिहरुको कोभिड बिमा अनिवार्य गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने समेत निर्णय भएको प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले मधेश लाइभलाई जानकारी दिए ।

यसैगरी, अवस्था सामान्य भई यातायात संचालनमा आउनासाथ प्रदेशस्तरीय ओ लेभलको एम्पायर स्कोरिंग तालिमको आयोजना गर्ने जिम्मेवारी सप्तरी क्रिकेट संघलाई दिने निर्णय गरिएको छ भने प्रदेशका न्युन आय भएका तथा कोभिडका कारणले जिविकोपार्जन गर्न समस्या खेपिरहेका खेलाडिहरुको नामावली संकलन गरी प्रदेशमा पेश गर्ने प्रदेशका सदस्य सुभाष जयसवाललाई जिम्मेवारी दिइएको सचिव श्रेष्ठले बताए ।

दुवै मृगौला खराब भएका तथा कोरोनाले समेत ग्रसित खेलाडी ‘कुन्दन सिंह बचाउ अभियान’मा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिँदै कुन्दन सिंहले मृगौला दाता पाएसँगै प्रत्यारोपणकोलागि आवश्यक सहयोगकोलागि समेत प्रदेशले पहल गर्ने समेत निर्णय भएको जनाएको छ ।

अन्तरक्रियामा नेपाल क्रिकेट संघका सदस्यद्वय माधव कर्माचाय र दाउद अन्सारी लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस