युवाहरुलाई रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउँछौंः कृषि मन्त्री साह

२०७७ भदौ २८
राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बेरोजगार यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ४ स्थित भथौलको सामुदायिक भवनमा आज (आइतवार) आयोजित कृषी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशमै सर्वाधिक प्रदेश २ बाट करिब १० लाख युवा विदेशिएको चर्चा गर्दै उनले भने ‘कृषीमा आधारित यूवा प्रवद्र्धन रोजगार कार्यक्रम अन्तर्गत विदेशबाट फर्केर आउने तथा स्थानीय बेरोजगार यूवाहरुलाई उत्पादनमूलक एवम् व्यवसायमुखी कार्यहरु गर्नकालागि प्रदेश सरकारले बिना व्याज ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको छ, चाँडै यो कार्यक्रम शुरु हुने तयारी भईरहेको छ ।’

प्रदेश नम्वर २ सरकारले कृषीमा आधारित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको जानकारी दिँदै कृषकहरुलाई प्रोत्साहन गर्न मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत १ कट्ठादेखि १० कट्ठासम्म खेती गर्ने किसानको नाममा खाता सञ्चालन गरी दश हजार रुपैयाँ खातामै पठाईने मन्त्री साहले जानकारी दिए ।

किसानहरुलाई मलखाद तथा बीउबिजन खरिद गर्न वर्षमा एक पटक उक्त रकम पठाईने बताउँदै उक्त कार्यक्रम शुरु हुने क्रममा रहेको उनले बताए । रसायनिक मलको अभावलाई परिपूर्ति गर्न प्रदेश सरकाले तीन ओटा अर्गानिक मलको कारखाना सञ्चालन हुने जानकारी दिँदै मन्त्री साहले भने ‘प्रदेश सरकार तीन ओटा मल कारखाना सञ्चालन गर्ने तयारी गरेको छ, जसमा एउटा मल कारखाना सप्तरीमा समेत सञ्चालन हुनेछ ।’

प्रदेश २ मा २७ प्रतिशतमा जमिनमा मात्र सिंचाई पुगेको तथा बाँकी जमिनमा अहिले पनि आकाशे भरमा खेती भईरहेकोले किसानको खेतखेतमा पानी पुर्याउनकालागि गृहकार्य भईरहेको जानकारी दिँदै उनले बाह्रै महिना पानी रहने नदीहरुबाट सिंचाईकालागि हालसम्म प्रदेशका एक सय १७ ओटा नदीको अध्ययन भईरहेको बताए ।

दिर्घकालीन सिंचाईकालागि कोशी कमला मरिन डाइभर्सन आयोजना सञ्चालन गर्न संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने मन्त्री साहले जानकारी दिए । स्थानीय किसानहरुको समस्यालाई सम्बोधन गर्दै भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री साहले रुपनी गाउँपालिका वडा नम्वर ४ को डिहबार थानदेखि घोडदह नदीसम्म कृषी सडक निर्माणकालागि बजेट उपलब्ध गराउने, घोडदह नदीमा सेफन वा सुलिसगेट निर्माण गरी सिंचाई सेवा उपलब्ध गराउन अध्ययनकालागि प्राविधिक पठाउने, कृषी विद्युतीकरणकालागि गाउँपालिकासँगको समन्वयमा कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु गजेन्द्र कुमार मण्डल, दिनेश कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी सरदार, पार्टीका यूवा नेता उमेश कुमार यादव, वडा अध्यक्ष छेदी ईशर, पूर्व वडा अध्यक्ष मिश्रीलाल यादव, कृषक अगुवा भिखो माझी, रामेश्वर विश्वास लगायतले वडा तथा गाउँपालिकाको विविध समस्याहरुबारे मन्तव्य व्यक्त गरे ।

उक्त कार्यक्रममा वडाका किसानहरुको समस्यासहित विविध पक्षहरुबारे प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले किसानहरुको समस्या तथा वडाको विविध समस्याहरुबारे मन्त्री साहको ध्यानाकर्षण गराए । पार्टीका वडा कमिटी अध्यक्ष तेजनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्राध्यापक धनेश्वर यादवले गरे ।

शहिद परिवारलाई सम्मान

मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रुपनी गाउँपालिका वडा नम्वर ४ का स्व. खुशीलाल यादव र नागेश्वर यादवका परिवारलाई सम्मान गरिएको छ ।

आयोजकको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष हरेराम यादवले कृषी क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको भन्दै मन्त्री साहलाई समेत दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

जनता समाजवादीमा प्रवेश

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीमा प्रवेश गर्नेहरुमा सुकदेव खङ्ग, बासुदेव खङ्ग, निरसी देवी खङ्ग, प्रमिला देवी खङ्ग, ठकनी देवी खङ्ग, सीता देवी खङ्ग, मुनिया देवी खङ्ग, रमेश खङ्ग, अमला देवी खङ्ग, प्रमेश्वर खङ्ग, सन्तोष खङ्ग लगायतका व्यक्तिहरु रहेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले टिका लगाएर स्वागत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस