विभिन्न स्थानमा भारी वर्षा, शुक्रबारसम्म सतर्क रहन आग्रह

२०७७ असोज ७
जनकपुरधाम । देशको अधिकांश स्थानमा रातिदेखि वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ । यसपालिको मनसुन सेप्टेम्बर २३ अर्थात् आज नै सकिने आकलन गरिए पनि यो अझै केही दिन लम्बिने मौसमविद्ले जनाएका छन् ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस