सङ्क्रमित पत्रकार र परिवारजनलाई जनप्रतिनीधिद्वारा मानसिक दवाव

२०७७ असोज १० गते ।
राजविराज । सप्तरीको खडक नगरपालिका वडा नम्वर ८ निवासी कोरोना सङ्क्रमित महिला पत्रकार तथा उनका परिवारजनलाई जनप्रतिनीधिले सहयोग गर्नुको साटो अनावश्यक रुपमा मानसिक तनाव दिने गरेका छन् ।

उनीसहित परिवार समेतका पाँच जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि होम आइसोलेसनको पूर्ण रुपमा पालना गर्दै घरमै आइसोलेसनमा बस्दैआएको अवस्थामा वडा अध्यक्ष मो. ईसराईल मियाँले घरमा बस्न नमिल्ने भन्दै पटक पटक मानसिक रुपमा तनाव दिँदैआएका हुन् । सामान्य ज्वरो र खोकी लागेपछि ३० वर्षिया महिला पत्रकार सहित परिवारजनको पीसीआर परीक्षणकालागि स्वाब दिएकोमा

गत असोज ४ उनीसहित छ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
उनीसहित पाँच जना पूर्ण रुपमा व्यवस्थित रहेको छुट्टै घरमा आइसोलेसनमा बस्दैआएका छन् । ती सबैको अवस्था समेत सामान्य रहेको अवस्थामा वडा अध्यक्ष ईसराइलले घरमा बस्न मिल्दैन भन्दै नेपाली सेना तथा प्रहरी बोलाएर विरामी अवस्था झन मानसिक पीडा थप्ने गरेको पीडित पत्रकारले जानकारी दिईन् ।

आफुहरुको कारणले कसैलाई समस्या नहोस् यसकालागि सचेत रहेको जानकारी दिँदै उनले भनिन् ‘हामी पूर्णतः सुरक्षित रुपमा होम आइसोलेसनमा बसिरहेका छौं, तैपनि वडा अध्यक्षले सेना, प्रहरीका साथ एम्बुलेन्स मगाएर आइसोलेसनमा बस्न दवाब दिँदैआएको छ ।’ यस अतिरिक्त कैयौं सातादेखि आफुहरुको सम्पर्कमा नआएका व्यक्तिहरुलाई समेत अनावश्यक रुपमा पीसीआर परीक्षण गराउन दवाव दिने गरेको पीडित पत्रकारले बताईन् ।

उक्त विषयमा वास्तविकता बुझ्न जिल्ला स्थित प्रशासन समेतलाई जानकारी गराएपछि स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवको टोलीले शुक्रवार साँझ स्थलगत रुपमा सङ्क्रमितहरु वास स्थल अवलोकन गरेका छन् । उनका अनुसार पत्रकारसहित सङ्क्रमितहरु छुट्टै भवनमा अलग अलग कोठामा बस्दैआएका छन् । शौचालय समेत छुट्टै रहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेको मापदण्ड अनुसार उनीहरुको बसाई उपयुक्त रहेकोले सङ्क्रमितहरुलाई अन्यत्र लाने वा अन्य दवाबहरु दिईनु गलत रहेको उनले बताए । अनावश्यक रुपमा पत्रकारसहित उनका परिवारजनलाई मानसिक तनाव नदिन स्वास्थ्य प्रमुख यादवले सम्वन्धित पक्षसँग आग्रह गरेका छन् ।

यता वडा अध्यक्ष ईसराइलले टोलमा थप व्यक्तिमा सङ्क्रमण नहोस् यसकालागि आफुले उनीहरुलाई आइसोलेसनमा पठाउने प्रयास गरेको बताए । आफु वडा अध्यक्षको जिम्मेवारीमा रहेकोले केही भयो भने आफुलाई नै जवाफ दिनुपर्ने भएकोले चासो लिनु स्वाभाविक भएको उनले दावी गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस