कोरोनाबाट जोगिन ६० हजार थ्री लेयरको मास्क वितरण गरिनेः मेयर मिश्र

मेयर वसन्त कुमार मिश्रले भने ‘हरवाचरवाहरुको समुचित व्यवस्थापनको विषयमा आफुले बोल्नुभन्दा काम देखाउनेछु ।’

राजविराज, १२ असोज । कञ्चनरुप नगरपालिकाका मेयर वसन्त कुमार मिश्रले लकडाउन खुले पनि सुरक्षाकालागि मास्क अनिवार्य रहेकोले सम्पूर्ण नगरवासीलाई थ्री लेयरको ६० हजार मास्क तथा साबुन वितरण गर्न लागेको बताएका छन् ।

हरवाचरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत तपेश्वरी समाज कल्याण संघ राजविराजले सप्तरीको रुपनगरमा सोमवार आयोजना गरेको हरवाचरवा समूहको दिगोपनकालागि नगरपालिकासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कोरोना भाइरस सङ्क्रमणको अवस्था अझै कायमै रहेको चर्चा गर्दै उनले भने ‘लकडाउन खुलेपछि पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्नेमा चरम लापर्वाही भईरहेको छ नै, कपडा दुई लेयरको मास्क प्रयोग भईरहेकोले भाइरसबाट जोगिन थ्री लेयरको ६० हजार मास्क र हात धुने साबुन आम नगरवासीलाई वितरण गर्ने तयारीमा छौं ।’

कञ्चनरुप नगरपालिका विपन्न एवम् दलितलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिँदै उनीहरुको जिवनस्तर उकास्नकालागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए । कार्यक्रममा हरवाचरवा तथा अगुवाहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दै मेयर मिश्रले हरवाचरवाहरुको समुचित व्यवस्थापनको विषयमा आफुले बोल्नुभन्दा काम देखाउने प्रतिवद्धता व्यक्त गरे ।

नगरमा रहेका कुनै पनि जाति तथा समुदायका व्यक्तिको नागरिकता नबनेर समस्या भईरहेको भए वडा अध्यक्षसँग सम्पर्क गर्न तथा कुनै समस्या भए आफुसँग सम्पर्क गर्न आग्रह गरेका छन् । नगरपालिकामा वसोबास गर्दैआएका आमनगरवासीमा अन्याय अत्याचार कसैले गरे तुरुन्त खबर गर्न आग्रह गर्दै उनले भने ‘कसैमाथि जो कोहीले अन्याय गरे वर्दास्त गरिनेछैन, न्याय दिलाउन पर्खाल झै उभिन्छु ।’

आफ्नो कार्यकालको अन्तिम दिनसम्म ईमानदारिताकासाथ जनताको सेवामा जुटिरहने बताउँदै मेयर मिश्रले थपे ‘मैले आजको मितिसम्म एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, कसैले प्रमाण ल्याए राजिनामा दिन तयार छु, न मलाई धन कमाउने लोभ छ न सुविधा लिने शौक छ, अति आवश्यक बाहेकको अवस्थामा म अहिले पनि सर्वसाधारणसँगै म्याजिक चढेर राजविराज जान्छु ।’ छोराछोरीलाई पढाउन, कुलतमा नलाग्न, अन्धविश्वासको पछि नलाग्न तथा छोराछोरी भेदभाव नगर्न उनले सबैसँग आग्रह गरे ।

आयोजक संस्थाका सचिव सुमन मुडभरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दर्शन मण्डल, सचिव लागेन सदा, पत्रकार उत्तम आचार्य, वडा नम्वर १२ का अध्यक्ष देवी वहादुर खत्री, दलित सचेतना केन्द्रका अध्यक्ष डिक बहादुर विक लगायतले आ–आफ्नो धारणा राखे । कार्यक्रममा स्वागत आयोजक संस्थाका सल्लाहकार प्रदिप कुमार जोशी तथा कार्यक्रमको उद्देश्यबारे परियोजनाका संयोजक सुदेश भगतले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस