संघियता समाप्त पार्ने पक्षमा लागेको छः अध्यक्ष यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा नेतृत्वको सरकारले संघियतालाई कमजोर पारेर समाप्त पर्ने पक्षमा लागेको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टी नेपालले आज (आइतवार) सप्तरीको राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘सशस्त्र आन्दोलन र जनआन्दोलनमा युवाहरुले गरेको त्याग र बलिदानबाट मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ’ उनले भने–‘तर, अहिले आएर कम्युनिष्ट नेतृत्वको सरकारले संघियतामाथि निरन्तर प्रहार गर्दै आएको छ ।’

वर्तमान सरकारले संघियता अन्त्य गरेर पञ्चायत र राणाकालीन निती अपनाएको उनले बताए । ‘पञ्चायत र राणाकालीन जस्तो एउटै भाषा, एउटै भेषको निती लिएर सरकार अघि बढेको छ’ उनले भने–‘यस्ता नितीविरुद्ध लाग्नु लाग्नुपर्छ ।’

उनले अधिकार प्राप्ति र समानताकोलागि संघर्षको आवश्यकता समेत औंल्याए । ‘राज्यद्वारा विभेदमा पारिएका मधेशी, दलित, जनजाती वा देशभरका विपन्न वर्गीयहरुलाई अधिकार प्राप्ति र समानताकोलागि संघर्षको आवश्यकता छ’ उनले भने–‘अधिकार, अवसर र न्यायमा समानता चाहिएको छ, र यही नै समाजवादको सिद्धान्त पनि हो ।’

उनले समाजवादकै सिद्धान्तमा आफुहरु पनि अघि बढेको बताए । युवा संघ प्रदेश २ का अध्यक्ष आतेशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का भुमि, व्यवस्था कृषि तथा सहकारी शैलेन्द्र प्रसाद साह र राज्यमन्त्री योगेन्द्र राय यादव, राष्ट्रियसभा सदस्यद्वय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह लगायतको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस