नागरिकता लिन आउने सेवाग्राहीमा कोरोना सर्ने त्रास

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दा थप कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ ।

भाइरसको संक्रमणबाट बच्न र बचाउनकालागि कार्यालयबाट थप सतर्कतासहितको विशेष समय तालिकामार्फत सेवा दिन थालिएपनि सेवाग्राहीको चाप बढेको हो । एक दिनमा बढीमा ३ वटा स्थानिय तहको कार्य सम्पादन सुरु गरिएपनि कार्यालयमा अत्याधिक भिडभाड बढेको छ ।

दैनिक ५–७ सयसम्म आउने गरेका सेवाग्राहीको भिडभाडलाई व्यवस्थित गर्न सकिएको छैन् । जसका कारण कोरोना संक्रमणकै बेला सेवाग्राहीलाई सडकमै चर्को घाममा लाइन बसेर सेवा लिन बाध्यता परेको छ । ‘विहान ७ बजे नै नागरिकता बनाउन कार्यालय आए, अहिले साढे ११ बजेसम्म ठेलमठेल लाइनमै छु’ खडक नगरपालिकाका सेवाग्राही भोला प्रसाद यादवले भने–‘एक त चर्को घाम र त्यसमाथि कोरोनाको त्रास, कम्तिमा कार्यालयले लाइनलाई व्यवस्थित गर्नुपर्ने थियो ।’

उनले कोरोनाको त्रास रहेपनि आफुलाई बाध्य भएर लाइनमा बस्नु परेको सुनाए । अर्का तिरहुत गाउँपालिकाका सेवाग्राही हेमनारायण चौधरीले भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्नेतर्फ जिल्ला प्रशासन कार्यालयले गम्भीरता नदेखाएको आरोप लगाए । ‘संक्रमण रोकथामतर्फ कार्यालय गम्भीर भएको भए यो भिडभाडलाई व्यवस्थित गरेकै हुन्थ्यो’ उनले भने–‘भिडमा एक जना पनि संक्रमित भयो भने यहाँ उपस्थित सेवाग्राही मात्रै होइन, हाम्रा घर परिवारका धेरै सदस्यसम्म पनि भाइरस पुग्छ, यसको जिम्मेवार को हुने?’

उनले भिडभाडलाई व्यवस्थित गरी सेवा प्रवाह गर्न आग्रह पनि गरे । कोरोनाबाट जोगिनकालागि सामाजिक दुरी र अनिवार्य मास्कको प्रयोग गरेर सेवा लिन आउनुपर्ने र कार्यालयले पनि स्वास्थ्य मापदण्डको पालना गर्न–गराउनेतर्फ ध्यान पुर्याएर सेवा प्रवाह गर्नु पर्ने थियो । तर, कार्यालयले स्वास्थ्य मापदण्ड पालना गराउनेतर्फ ध्यान नदिँदा संक्रमणको जोखिम बढेको सेवाग्राहीहरुको गुनासो छ ।

उता, सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले कोभिड–१९ का कारण कार्यालयमा कार्यरत एक जना कर्मचारीको मृत्यु भइसकेको र एक प्रशासकिय अधिकृतसहित केही कर्मचारीहरु संक्रमित भइसकेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न समस्या भइरहेको बताए । यद्यपी, आफुहरु सेवाग्राहीलाई व्यवस्थित गरेर सेवा प्रवाह गर्न प्रयासरत रहेको उनले बताए ।

कार्यालयले असोज ११ गतेदेखि थप सतर्कतासहितको विशेष समय तालिकामार्फत नयाँ नागरिकता र प्रतिलिपी नागरिकता सम्वन्धि सेवा प्रदान गर्दै आएको छ ।

तालिकाअनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन भइरहेको छ ।

यसैगरी, बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्य सम्पादन भइरहेको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस