जनप्रतिनिधिबारे फेसबूकमा प्रतिक्रिया शेयर गरेपछि आक्रमणको प्रयास

राजविराज । जनप्रतिनिधिबारे सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियालाई शेयर गरेपछि सप्तरीको राजगढ गाउँपालिकाका एक युवकमाथि आक्रमणको प्रयास भएको छ । वडा नम्वर ४ चपेनाका २५ वर्षीय संतोशकुमार साह (मधेशी)ले न्यायकोलागि चौतर्फी गुहार गर्न थालेपछि घटना बाहिरिएको हो ।

उनका अनुसार सामाजिक सञ्जालमा पोष्ट शेयर गरेकै भरमा वडा नम्वर ६ का अध्यक्ष कमलदेव यादवका छोराले मोवाइलमा गाली गलौच गर्दै ज्यानै मार्नेसम्मको धम्की दिएको र आइतवार वडा अध्यक्षले पनि आफ्नो खोजी गर्न घरसम्म पुगेको हो ।

‘वडा अध्यक्षले फोनमार्फत भेट्न बोलाएपछि आफु जानै लागेको थिए, सोही समयमा उहाँका छोराले गाली गलौच गर्दै ज्यानै मार्ने धम्की दिएपछि डर भएर भेट्न गइन्’ उनले भने–‘वडा अध्यक्षको फोन निरन्तर आइरह्यो, त्यसपछि आफुलाई घरमा बस्न सुरक्षित लागेन ।’

घर परिवारको सल्लाहअनुसार अहिले राजविराजमै लुकिछिपी बस्दै आएको साहले दुखेसो गरे । ‘घरमा पुगेका वडा अध्यक्ष यादवले परिवारका सदस्यहरुलाई दवाव दिँदै आएको छ’ उनले भने–‘मैले गलती नै गरेको हो भने कानून अनुसार सजाय भोग्न तयार छु, तर जनप्रतिनिधिको आक्रमक व्यवहारले आफु र आफ्ना परिवारका सदस्यहरु उच्च तनावमा छन् ।’

प्रहरी चौकी पथरगाढामा पनि मौखिक जानकारी गराइसकेको भन्दै उनले न्यायको पहल गरिदिनुहुन् सवैमा आग्रह गरे ।

शेयर गरिएको प्रतिक्रिया :

साहले गत शनिवार साँझ ६ बजेतिर सामाजिक सञ्जालमै फेला परेको प्रतिक्रियालाई ‘स्क्रिन शट’ गरेर आफ्नो सामाजिक सञ्जालको ‘वाल’मा शेयर गरे ।

‘राजगढ जनमत युवा क्लब’ नामका फेसबूक आइडीमा लेखिएको सो प्रतिक्रियालाई शेयर गरेकै भरमा वडा अध्यक्ष यादवले आफुमाथि आक्रमण गर्न खोजेको उनको आरोप छ ।

के भन्छन् वडा अध्यक्ष?

वडा अध्यक्ष यादवले युवाहरु मिलेर अनाहकमा आफ्नो चरित्र हत्या गर्न खोजेपछि साहसँग भेटेर कुरा गर्न खोजेको प्रतिक्रिया दिए । ‘सामाजिक सञ्जालमा पटक पटक यस्ता क्रियाकलाप हुन थालेपछि मैले साहसँग भेटेर कुरा गर्न खोजे, उहाँको घर पुगेको बेला सो वडाका वडाअध्यक्ष र गाउँलेहरु पनि थिए’ उनले भने–‘झगडा गर्ने कुनै कुरा छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस