घर बसेरै करका यी कामहरु गर्न सकिन्छ

राजविराज, २९ असोज । आन्तरिक राजस्व विभागले कर प्रक्रियाका धेरै जसो कामलाई अनलाइनबाटै लिनसकिने गरी व्यापक सुधार थालनी गरेको छ । विगतमा करदाता सेवा कार्यालयमा सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत झन्झटसहितको कष्ट बेहोर्नुपर्ने समस्या अहिले फेरिएको छ ।

कोभिडका कारण कार्यालयमा उपस्थित भएर हुनसक्ने जोखिमलाई कम गर्दै करदातालाई घरमै बसेर अनलाइनबाटै अधिकांश सुविधा उपलब्ध गराइरहेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार विभागको वेबसाइट ‘डब्लूडब्लूडब्लू डट आईआरडी डट जीओभी डट एनपी’मा करदाताकालागि अनलाइन प्रयोगसँग सम्बन्धित सम्पूर्ण जानकारी पनि उपलब्ध गराएको छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर (पी पान) दर्ताको यसअघिको अनलाइन प्रणालीमा सुधार गरेर अनलाइनबाटै लिनसक्ने व्यवस्था गरिएको उनले बताए । यसैगरी विवरण बुझाउने अनि अद्यावधिक गर्ने कामलाई पनि सम्पूर्ण रूपमा अनलाइनमा ल्याइएको तथा पहिलेको प्रक्रियामा सुधार गरिएको उनले जानकारी दिए ।

जतिसुकै कर पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने पनि व्यवस्था पनि गरिएको छ भने नेपाल राष्ट्र बैङ्कसहित अन्य आठवटा बैङ्कको समेत लगानी रहेको कनेक्ट आईपीएसमार्फत करदाताले कर भुक्तानी गर्न सक्छन् ।

यसबाहेक ‘डे वान’ प्रकृतिका करदाताले अनलाइनबाटै कर चुक्ता गर्नसक्ने व्यवस्था पनि विभागले गरेको छ । आय विवरण बुझाउने म्याद थपको विवरण र त्यसको जानकारी पनि करदाताले अनलाइनबाटै प्राप्त गर्नसक्ने छन् ।

करदाता स्वयंले युजर आईडी र पासवर्ड सिर्जना गर्नसक्ने र बिर्सिएमा आफैँ अर्को बनाउन सक्नेगरी अनलाइन प्रणाली सहज बनाएको पनि विभागले जनाएको छ । आफ्नो विवरण आफैँ अद्यावधिक गर्न पनि अनलाइनको प्रयोग गर्नसक्ने व्यवस्था विभागले गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस