छात्रवृति विवादमा मावि खुरहुरियाका प्रअ तथा शिक्षकमाथि हातपात

राजविराज, २९ असोज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका प्रधानाध्यापक तथा शिक्षकमाथि हातपात गरेको आरोपमा विहीबार व्यवस्थापन समितिका अध्यक्षसहित दुई जना पदाधिकारी पक्राउ परेका छन् ।

छात्रवृति वितरण सम्वन्धी विषयलाई लिएर उत्पन्न विवादमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चितरञ्जन यादव र सञ्जीव कुमार यादव पक्राउ परेका हुन् । छात्रवृति वितरणमा मनपरी तरिकाबाट विद्यार्थी छनौट गरेको भन्दै प्रधानाध्यापक भूपेन्द्र प्रसाद साह, शिक्षक रामनारायण यादव र लेखापाल रामलखन यादवमाथि हातपात भएको जनाईएको छ ।

विद्यालय आएका समितिका अध्यक्ष चितरञ्जन र सञ्जीवले छात्रवृतिको विषयलाई लिएर अपशब्द प्रयोग गर्दै प्रअसहित आफुमाथि समेत हातपात गरेको विद्यालयका लेखापाल रामलखन यादवले जानकारी दिएका छन् ।

विद्यालयमा प्रअसहित शिक्षकहरुमाथि हातपात भईरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेका छन् ।

पक्राउ परेका विद्यालय व्यवस्थापन समितिका दुवै पदाधिकारी तथा शिक्षकहरु बिच भएको विवादबारे अनुसन्धान भईरहेको राजेन्द्र प्रसाद धमलाले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस