पूर्व मन्त्री डा. डम्बरनारायणको निधन, पैतृक गाउँमा अन्त्येष्टि गरिँदै

राजविराज, ०२ कार्तिक । सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर ३ बथनाहा निवासी पूर्वमन्त्री डा. डम्बरनारायण यादवको आइतवार निधन भएको छ ।
मुटु रोगबाट पीडित रहँदैआएका उनको ८७ वर्षको उमेरमा बिराटनगरमा उपचारको क्रममा निधन भएको हो । सप्तरी स्थित आफ्नै निवासमा केही दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । मस्तिष्क पक्षघातका कारण उनको निधन भएको उनका भतिजा डा. शरदसिंह यादवले जानकारी दिएका छन् ।

उनका अनुसार डा. यादवको अन्त्येष्टि आफ्नै पैतृक गाउँमा गरिने छ । उनलाई एक मात्र छोरो ई. मनोज कुमार यादवले मुखाग्नि दिने जनाईएको छ । डेढ वर्ष अघि उनकी धर्मपत्नी प्रभा यादवको निधन भएको थियो ।
डा. यादव पञ्चायती शासनकालमा तीन पटक मन्त्री भएका थिए । उनले २०३६ साल यता क्रमशः शिक्षा, स्वास्थ्य र निर्माण तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहँदा उल्लेखनीय कार्यहरु गरेका थिए । उनी सप्तरी निवासी रहे पनि सिरहा जिल्लाबाट चुनाव लडेर निर्वाचित भएका थिए ।

प्रजातन्त्रप्राप्ति पश्चात नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । मधेशी नागरिक समाजका अध्यक्ष समेत रहेका उनी राजधानी काठमाण्डौमा वि.सं. २०२५ सालमा स्थापना भएको मैथिलीको पहिलो संस्था अखिल नेपाल मैथिली साहित्य परिषद्को संस्थापक थिए । डा. नेपाल सदभावना पार्टी गठन पश्चात पार्टीको केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख समेत रहेका थिए । सप्तरी सहित मधेशका जिल्लाहरुमा शिक्षा क्षेत्रमो उनको महत्वपूर्ण योगदान रहेको छ ।

यता आइतबारै प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले डा. यादवको गाउँ पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् । डा. यादवको निधनले सप्तरी–सिरहा जिल्लाले कुशल अभिभावक तथा सिङ्गो मधेशले कुशल अभिभावक गुमाएको मन्त्री साहले प्रतिक्रिया दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस