मोरङ, झापा र सुनसरीका थप ५ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, २७ कार्तिक । मोरङमा कोरोना भाइरस संक्रमणका कारण थप पाँच जना मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र झापाका २–२ तथा सुनसरीका १ जना छन् । जसमध्ये सुनसरी र झापाका १–१ जनाको महिला तथा मोरङका १ पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको आज विहान ८ बजेतिर मृत्यु भएको हो । उनमा रुघा–खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि कात्तिक ४ गते उपचारका लागि हस्पिटलमा भर्ना गरिएको थियो । सोही क्रममा उनको पिसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा उपचारको विहान मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

यसैगरी ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएर बुधबार भर्ना गरिएकी सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि विहान सवा ८ बजेतिर मृत्यु भएको छ । उनमा बुधवारै कोरोना पुष्टि भएको प्रबन्धक दाहालले बताए ।

यसैगरी कोरोना पोजेटिभ पाइएपछि कार्तिक १७ गते उपचारकोलागि भर्ना गरिएका मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि विहान साढे ७ बजेतिर मृत्यु भएको छ । उनमा पनि ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको थियो ।

उता, विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मृत्यु भएको छ । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो ।

दिउँसो उनमा कोरोना पुष्टि भएको थियो । यसैगरी कार्तिक १५ गते संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका मोरङको उर्लाबारी–८ की ४५ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस