ठुला दलहरुका कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढ्यो : अध्यक्ष साह

राजविराज, १६ मंसिर । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ठुला दलहरुका कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढेको बताएका छन् । सप्तरीको खडक नगरपालिका–११ बनौलीमा सोमवार आयोजित बिशाल आमसभा, पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘ठुला दलहरुले राष्ट्रिय हितभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेका छन, जसका कारणले मुलुकमा भ्रष्टाचार र अराजकता बढेको छ’ उनले भने–‘यी यावतका कारणले मुलुकमा प्राप्त भएको उपलब्धीहरु पनि गुम्ने खतरा बढेको छ’

त्यसैले भ्रष्टाचारबिरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाएको उनले जानकारी दिए । स्थानीय तहहरुमा आर्थिक अपारदर्शिता बढ्दै गएकाले त्यसका बिरूद्व भण्डाफोर अभियानमा जुट्न उनले आह्वान समेत गरे ।

नेपाली जनता दलका केन्द्रीय सदस्य श्रवण चौधरीले महिलामाथि भईरहेको हिंसा, बलात्कार लगायतको घटनाको बिरोध गर्न आग्रह गर्दै बलात्कारीलाई फाँसी दिनुपर्ने माग गरे । जिल्ला अध्यक्ष बिजय चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता दलका केन्द्रीय सदस्यहरु रामबाबु रजक, महेन्द्र प्रसाद यादव, रामबिलाश सदा, गंगा सदा लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई अध्यक्ष साहले स्वागत गर्दै पार्टीमा प्रवेश गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस