अझैं जिता नदीमा बनेन पुलः सास्ती झेल्दै सर्वसाधारण

कमल कुमार मण्डल

लौनिया, २० मंसिर । देशमा राजनीतिक परिवर्तनहरु भए । पुराना संरचनाहरु फेरिए, घरघरमै सिंहदरवार आयो । तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ कुशहा टोलको व्यथा भने उस्तै छ । कुशहा स्थित जिता नदिमा पुल नहुँदा स्थानियबासिन्दाहरु सास्ती झेल्न बाध्य भएका छन् ।

नदीमा पुलमा नहुँदा त्यस भेगका वासिन्दाहरु खोला तरेर वारीपारी गर्नुपर्ने अवस्था छ । नदीमा पानी प्रायः बाह्रै महिना पानी रहने गरेका कारण खुट्टामा लगाएको जुत्ता, चप्पल हातमा लिएर खोला तर्र्नुपर्ने बाध्यता रहेको वडा कार्यालयबाट सिफारीस गराएर फर्किदै गरेका कुशहाका भीम मण्डलले बताए ।

तत्कालिन गाउँ विकास समितिमा अध्यक्ष रहँदाकै बेलादेखि निर्माण हुन लागेको पुल अझैं बन्न सकेको छैन । वर्षा समय समाप्त भएको अवस्था रहेकोले जसोतसो खोला तर्ने गरेको अर्का स्थानिय जितेन्द्र सरदारले दुःखेसो सुनाए ।

‘धेरै राजनीतिकर्मीहरु अवलोकन गरेर पुल बनाईदिने बाचा गरेर गए तर अहिलेसम्म कसैले पनि ध्यान दिएन’ उनले थपे ‘कुनै आकस्मिक समस्या पर्दा भगवानकै भरमा छोडनुपर्ने अवस्था छ, अहिले त जसोतसो विरामीलाई दुई जनाले समातेर खोला पार गर्छौ तर वर्षाको समयमा एक्लै पार गर्न ग्राहो हुन्छ ।’ समस्याको विषयमा पटक पटक वडा अध्यक्ष लगायत सम्बन्धित निकायहरुसमक्ष गुहार गरे पनि आश्वासन मात्र दिएको सरदारको आरोप छ ।

स्थानिय यूवा रामनारायण रजकका अनुसार नदिमा पानी आउँदा आगनमा समेत पानी जम्दा बस्न समेत गाह्रो हुन्छ । चुनावमा आएका नेताहरु जितेर गएपछि फर्केर हेर्नसम्म नआएको अर्का स्थानियावासी धनीलाल सरदारको गुनासो छ । आवतजावतमा आफुहरुलाई सास्ती झेल्नुपर्ने अवस्था रहेकोले पुल निर्माण गरिदिन सरोकारवाला निकायसँग उनीहरुको माग छ ।

Author:



क्याटोगरी छान्‍नुहोस