सप्तरीमा कोल्ड स्टोर: सरकार र सहकारीको लापरवाहीले रोकियो निर्माण कार्य

राजविराज, २० मंसिर । कृषकद्वारा उत्पादित कृषि उपजहरु खेर जाने गरेका समस्यालाई सामाधान गर्न सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा सुरु भएको सहकारी शित भण्डार (कोल्ड स्टोर) निर्माण कार्य रोकिएको छ ।

कुल ३१ करोड ५ लाख ३६ हजार ७७५ रुपैयाँको लगानी कोल्ड स्टोर निर्माण गर्न २०७५ मंसिर २४ गते टेण्डर भएर २०७५ पुस १६ गते आशिष/ओम साई राम जेभी सातदोबाटो ललितपुरले निर्माण गर्ने ठेक्का पाए । २५ करोड ४४ लाख ४३ हजार ९ सय ५९ रुपैयाँमा ठेक्का पाएका कम्पनीले निर्माण कार्य सुरु गरे । तर, संघीय र प्रदेश सरकार तथा जिल्ला सहकारी संघको लापरवाहीका कारण तोकिएको समयभित्र निर्माण कार्य पूरा हुन सकेन ।

समझौताअनुसार दुई वर्ष (२०७७ जेष्ठ १८ गते)मा कोल्ड स्टोर निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, तीन वटै पक्षले भुक्तानी दिन आलटाल गरिरहदा निर्माण कार्य पूरा हुन नसकेको निर्माण कम्पनीको भनाई छ । ‘हामी निर्माण सम्पन्न गरिसक्ने हिसावले नै काम गरिरहेका थिए, तर कहिले पनि समयमा भुक्तानी पाइन’ आशिष/ओम साई राम जेभीका साइड ईन्जिनियर धनश्याम साहले भने–‘पेमेन्ट दिएपछि मात्र निर्माण सामाग्रीहरु बाहिरबाट आउने गर्छन्, र यहाँ भुक्तानीमा एकदमै ढिलाई भइरहेकाले निर्माण सम्पन्न गर्न सकिएन ।’

उनका अनुसार पहिलो किस्ता (२०७५/०७६) वापत ५२ लाख रुपैयाँ सहकारीले अझैसम्म भुक्तानी दिएको छैन् । यसैगरी तेश्रो रनिङ्ग विल (०७६/०७७) मा पनि तीन वटै पक्षले ३ करोड ६८ लाख रुपैयाँ भुक्तानी बाँकी नै राखेको उनले जानकारी दिए ।

‘भुक्तानीकालागि पटक पटक जिल्ला सहकारी संघ र नगरपालिकालाई आग्रह गर्दा पनि अझैसम्म भुक्तानी उपलब्ध गराएको छैन्’ उनले भने–‘र ३/४ महिना कोरोनापछि गरिएको बन्दाबन्दी (लकडाउन)ले पनि काम प्रभावित भएकै हो ।’

म्याद थप हुँदा पनि छ महिनादेखि निर्माण सुरु भएन

तोकिएको म्यादभित्र निर्माण काम सम्पन्न नभएपछि कल्ड स्टोर निर्माण गर्न सरकारले निर्माण कम्पनीलाई थप एक वर्ष (२०७८ जेष्ठ १८)को समय दिएको छ । तर, भुक्तानी उपलब्ध गराउनेतर्फ भने सरकारको ध्यान गएको छैन् । ‘कोल्ड स्टोर निर्माण गर्न हामीलाई थप एक वर्षको समय दिएको छ, तर पहिलेको भुक्तानी उपलब्ध गराउन भने सवै उदासिन छन्’ आशिष/ओम साई राम जेभीका साइड ईन्जिनियर धनश्याम साहले भने–‘जसका कारणले अहिले छ महिनादेखि काम सुरु गर्न सकेको छैन्, र भुक्तानीको अवस्था यस्तै रह्यो भने थपिएको म्यादभित्र पनि काम सम्पन्न हुन सक्दैन ।’

निर्माण कार्य रोकिएपछि निर्माणस्थलमा थुपारिएका सामाग्रीहरुमा पनि खिया लागेर विग्रीन लाग्दा समेत जिल्ला सहकारी संघ, नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यान नपुगेको उनले गुनासो गरे ।

‘भुक्तानी उपलब्ध गराउन नगरपालिकाले ध्यान दिएन’

जिल्ला सहकारी संघ सप्तरी राजविराजका प्रमुख रमेशकुमार गुप्ताले बाँकी रकम भुक्तानीका लागि राजविराज नगरपालिकामा विलहरु पठाईसकेको बताए । ‘हाम्रो काम हामीले गरेकै हो, निर्माण कम्पनीबाट आएका विलहरु भुक्तानी गर्न नगरपालिका कार्यालयमा पठाइसक्यौं’ उनले भने–‘संघीय र प्रदेश सरकारबाट नगरपालिकाकै खातामा रकम आएर भुक्तानी हुन्छ, अब नगरपालिकामा पैसा आयो वा आएन भने विषयमा नगरपालिकाले पनि चासो देखाउनुपर्ने हो ।’

उनले नगरपालिकाले ध्यान नदिँदा भुक्तानी गर्न ढिलाई भइरहेको बताए । ‘निर्माण कम्पनीलाई भुक्तानी नदिँदा कोल्ड स्टोर निर्माणमा दुविधा उत्पन्न हुने अवस्था छ’ उनले भने–‘भुक्तानी नदिने हो भने ठेक्का नै तोड्ने निर्माण कम्पनीले मौखिक जानकारी गराइसकेको छ, यी विषयमा सवैले ध्यान दिनुपर्ने जरुरी छ ।’

‘संघीय सरकारले पैसा नपठाउदा समस्या भयो’

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले भुक्तानी उपलब्ध आफुहरु प्रयासरत रहेको बताए । ‘निर्माण कम्पनीलाई भुक्तानी उपलब्ध गराउने सवालमा हामीले पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आइरहेका छौं’ उनले भने–‘तर त्यहाँबाट बजेट नै उपलब्ध गराएको छैन, त्यसैले चाहेर पनि भुक्तानी गर्न सकिएको छैन् ।’

निर्माण कार्य सुरु गराउन कम्पनीसँग कुरा भइरहेको मेयर यादवको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस