गुटबन्दी तथा विवाद त्यागेर काममा ध्यान जाओस्

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार सर्वपक्षिय बैठक डाकेर मुलुकमा प्रतिक्रियावादीहरुले शिर उठाउन थालेको बताए । बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले सरकारको कार्यशैलीकै कमजोरीका कारणले मुलुकमा समस्या बढेको बताएका छन् । उनीहरुले जनताका समस्याका बारेमा सरकारले चासो नदेखाएको कारणले नै जनतामा निराशा बढेको समेत बताएर सरकारलाई कार्यशैली सुधारकालागि सुझाव दिएका छन् ।

मंगलबारै सप्तरी पुगेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले पनि सरकारकै कारण देशमा जनताको बलिदानीबाट आएको उपलब्धिमाथि दशा लाग्ने लक्षण देखिन थालेको बताएका छन् । बलियो बहुमतका साथ गठन भएको वर्तमान सरकारले देश र जनताका पक्षमा काम गरेर देखाउनु पर्ने समय हो यो । किनकी जनताले नेकपा नेतृत्वको सरकार निर्माण भएपछि विकासले फड्को मार्ला, सुशासनको प्रत्याभूति पाईएला भन्ने आकांक्षा राखेर नै उक्त पार्टीलाई निर्वाचनमा बहुमत दिएका हुन् ।

यो जनमतको सम्मानकालागि भए पनि सरकारले काम गरेर देखाउन जरुरी थियो । तर, बिडम्बना नै भन्नु पर्दछ कि जसरी बलियो बहुमतका साथ बनेको सरकार थियो, त्यस मुताबिक काम हुने सकेको देखिएन । उल्टै कोरोनाको संकट बढेको अवस्थामा उपचार नपाएर विरामी छटपटाई रहँदा पनि सरकारले त्यसकालागि आवश्यक व्यवस्था गर्न नसकेको भनि यति बेला जनगुनासो बढेको छ ।

कोरोनाको संकट एकाएक आएका कारणले यसबारे पूर्व तयारी गर्न नसकिएको भन्ने सरकारको तर्क हुन सक्ला । तर, उपचारको निःशुल्क व्यवस्था गर्ने भनेर सरकारले बताईरहँदा पनि जनता चर्को शुल्क तिर्न बाध्य बनेकै छन् । संक्रमितहरुको उपचारकालागि अझै पनि सहज व्यवस्था हुन सकिरहेको छैन । विरामी लिएर अस्पतालहरुको चक्कर लगाउनु पर्ने बाध्यता हट्न सकेको छैन । यस्तै भ्रष्टाचार तथा ढिलासुस्तीका कारणले पनि जनताले सुशासनको प्रत्याभूति पाउन सकेका छैनन् । समग्रमा, मुलुकमा विद्यमान समस्या समाधानतिर सरकारले जुन गतिका साथ काम गर्नु पर्ने थियो त्यसमा बिलम्ब भएकै अवस्था देखिन थालेको छ ।

धमिलो पानीमा माछा मार्ने काम नहोला भन्न सकिन्न । सरकारको कार्यशैलीबाट जनता असन्तुष्ट रहेकै मौकामा यति बेला सडकमा व्यवस्था बिरोधी नाराहरु गुञ्जिन थालेका छन् । यस्तो मौका नै नआओस् भन्नाकालागि सरकारले नै पहिला अग्रसरता लिन जरुरी छ ।

मुलुकमा जनताको बलिदानी तथा त्याग तपस्याबाट निरंकुशतन्त्रको अन्त्य भई गणतन्त्र आएकोमा आशंका नहोला । तर,यत्रो परिवर्तन पश्चात पनि बेथितिका डंगुर रहने हो भने असन्तुष्टी त उठ्छन् नै । यसको जवाफकालागि अन्य उपायको खोजीतिर लाग्नु भन्दा पनि सरकारले राम्रा र उदाहरणीय कामबाटै जवाफ दिने कोशिस गर्नु उत्तम हुनेछ ।

सरकारले जनताका आकांक्षा अनुरुप काम गर्ने हो भने त्यसमा जनताको साथ रहन्छ नै । अनि प्रतिगमनकारी शक्ति आफैं निस्तेज भएर जानेमा आशंका पनि रहन्न । मुलुकमा विद्यमान समस्या निवारणतिर भन्दा पनि सरकार तथा सत्तारुढ पार्टी भित्र अहिले आपसकै विवादले उग्र रुप लिन थालेको छ । गुटबन्दी तथा विवाद भन्दा पनि जनताकालागि काम गर्नेतिर लाग्न जरुरी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस