सप्तरीमा माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मुत्यु, चार जना घाइते

राजविराज, २९ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिका–३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य सोही पक्षका ४ जना घाइते भएका छन् ।

छपकी पोखरीमा माछा मार्ने विषयमा गए राति विवाद भएर झडप भएको हो । झडपमा स्थानीय ४० वर्षीया गंगीयादेवी मण्डलको मृत्यु भएको छ । टाउकोमा बन्चरो लागेर मण्डल घटनास्थलमै ढलेको प्रत्येक्षदर्शीले जानकारी दिए ।

यसैगरी झडपमा सोही पक्षका १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल र ४० वर्षीय सुरेन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल घाइते भएका छन् ।

गम्भीर चोट लागेका तीनैलाई उपचारको लागि विराटनगरस्थित न्यूरो शिक्षण अस्पताल पठाइएको छ भने जोगिन्द्रको बोदे बरसाईनस्थित क्लिनिकमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए ।

झडपमा संलग्न अर्को पक्षका चार जनालाई पक्राउ गरिएको छ । सोही ठाउँका ४५ वर्षीय विजय मण्डल, २५ वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय रवित मण्डल र ५० वर्षीय छोटु मण्डललाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पासवानले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस