प्रदेश प्रहरी कार्यालयमा ४ महिनामा २ हजार १ सय ७ मुद्दा दर्ता

बिराटनगर, ३० मंसिर । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ मुद्दा दर्ता गरेको छ भने ११ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।

सङ्गठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । आर्थिक बर्षको गत चार महिनामा मात्र २ हजार १ सय ७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कार्वाही गरिसकिएको छ । यसैगरी फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १९३ जना फरार प्रतिवादी पक्राउ गरी ३०० बर्ष कैद भुक्तान भई , १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस्तै नदिजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३३ जना मानिस पक्राउ गर्नुका साथै १२८४ क्यूविक फिट काठ बरामद गरी १४ लाख ९ सय राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिक वर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही गर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ ।

यस्तै आर्थिक बर्षको ४ महिनामा मात्र कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस