किसानलाई लाचार बनाउने दुस्साहसको प्रतिकार गर्छौंः मन्त्री साह

जनकपुरधाम, ३ पुस । चिनी मिलहरुबाट उखु बापतको भुक्तानी नपाएको भन्दै प्रदेश २ का किसानहरुले जारी राखेको आन्दोलनको माग अविलम्व सम्वोधन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आग्रह गरेको छ ।

शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै उनले किसानहरुको दुःख कष्ट निपटारा गर्न सम्पूर्ण शक्ति तथा स्रोत उपयोग गरी तत्काल कार्यबाही थाल्न सरकारसँग आग्रह गरेको हुन् । संघीय राजधानीमा किसानहरु आन्दोलनरत भएको स्थितिलाई आफुहरुले अत्यन्त गम्भीरता एवम् संवेदनशीलतापूर्वक नियालिरहेको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा अगाडि भनिको छ ‘संघीय सरकारको जिम्मेवारी र नियन्त्रित व्यवस्थाभित्र रहँदै आएको बिउबिजन, मलखादको उपलब्ता र बिक्री वितरण प्रणाली तथा कृषिजन्य उत्पादनको मूल्य निर्धारण तथा भुक्तानीजस्ता आधारभूत कार्य व्यवस्थित, वैज्ञानिक र किसान हितकारी नहुँदा पहिल्यैदेखि लगानी अनुरुपको प्रतिफल प्राप्त नहुने मर्कामा परेका किसानहरुलाई सधैंभरि आफ्नो उत्पादनको रकम प्राप्त गर्न चिसो सिरेटोमा आन्दोलन गर्नुपर्ने बाध्यता छ ।’ कृषिक्षेत्रबाट देशमा आर्थिक समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य किसानको आँखामा आँसु र अनुहारमा बोझिलो पीडाबाट सम्भव नहुने निश्चित नै रहेको उल्लेख गर्दै मन्त्री साहले उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघ सरकारको बेवास्ता र उदासीनता दुर्भाग्यपूर्ण तथा चिन्तायोग्य रहेको ठहर गरेको छ ।

उखु किसानका भुक्तानी नहुने लगायतका समस्याका बारेमा प्रदेश सरकार निरपेक्ष रहन नसक्ने भन्दै वैधानिक रुपमा यावत् समस्यालार्ई समाधान गर्ने क्षेत्राधिकार र सामथ्र्य संघ सरकारको रहे पनि गत वर्षसमेत यस विषयलाई महत्वपूर्ण र अग्रप्राथमिकता भएको ठहर गर्दै उच्चस्तरीय समिति गठन गरी किसानहरुका समस्याबारे स्थलगत अध्ययन अवलोकन गरेको प्रेस विज्ञतिमा स्मरण गरिएको छ । उद्योगी (मिल सञ्चालक) र किसानहरुका बीच सार्थक एवं परिणाममुखी वार्ता गराई सदैवकालागि भुक्तानी समस्या सुल्झाउने ठोस तथा दिगो कार्यरुप तयार गर्न पहल गरे पनि उद्यागीहरुको अनिच्छा, अर्घेल्याइँ र उपेक्षाका कारण आफुहरुको प्रयासले मूर्त रुप लिन नसकेको जनाईएको छ । यद्यपि तत्काल समस्या निराकरण गर्न अपेक्षित भूमिका इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘उत्पीडन तथा सबैखाले भेदभाव विरुद्धको जनसंघर्ष र स्वशासनको आकांक्षाबाट जनअनुमोदित प्रदेश २ सरकार किसानलाई लाचार र विवश बनाउने कुनै पनि शक्तिको दुस्साहसको सही, सटीक र सबल प्रतिकार गर्ने विश्वास दिलाउन चाहन्छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस