जसपाद्वारा संसद् विघटन विरुद्ध प्रदर्शन, प्रधानमन्त्री ओलीको पुतला दहन

राजविराज, ५ पौष । संसद् विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतवार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन समेत गरिएको छ ।

शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्यालीले प्रदर्शन गर्दै बजार परिक्रमा गरेका थिए । परिक्रमा पश्चात शहिद दशन चौकमा पुगेर जसपाआवद्ध नेता/कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

संसद् विघटनले संविधान र लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्थामाथि नै गम्भीर प्रहार भएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

यसअघि नेकपाआवद्ध नेता/कार्यकर्ताहरुले संसद विघटन प्रतिगामी, अलोकतान्त्रिक र गैर संवैधानिक कदम रहेको भन्दै प्रदर्शन गरेका थिए ।

आइतवार विहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन प्रस्ताव पारित गरेका थिए । आइतवारै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी दुई चरणमा निर्वाचन समेत तय गरेपछि विघटनको चौतर्फी विरोध सुरु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस