बोदे बरसाईन नगरपालिका–३ : ‘मनोमानी गरेर कार्यालयमा तालाबन्दी गरियो’

राजविराज, ५ पौष । सप्तरीको बोदे बरसाईन नगरपालिका–३ का वडा अध्यक्ष अनोज यादवले केही व्यक्तिले मनोमानी गरेर वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन् ।

नगरपालिकाले सार्वजनिक पोखरीको ठेक्का लगाउन गरिएको टेण्डर प्रक्रियामा आइतवार केही स्थानीयले असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गरेपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सार्वजनिक पोखरीको जिम्मा लगाउन गोप्य रुपमा टेण्डर प्रक्रिया गरिएको असन्तुष्ट पक्षको आरोप छ । तर, ऐन कानूनअनुसार नै वडामा रहेको सार्वजनिक पोखरीको जिम्मा लगाउन टेण्डर प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष बताउँछन् । ‘हामीले कानूनअनुसार नै पोखरी जिम्मा लगाउन टेण्डर प्रक्रिया अघि बढाए, वकायदा पत्रिकामा सूचना गरे’ उनले भने–‘र, नगरपालिकाको सूचना पार्टीदेखि वेबसाइटमा पनि सूचना टाँस गरे अनि टेण्डर प्रक्रिया कसरी गोप्य भयो?’

उनले वडा कार्यालयमा तालाबन्दी हुँदा सर्वसाधाणलाई सेवा प्रवाह गर्न नसकिएकोप्रति दुःख व्यक्त गरे । ‘हामीले कानून मिचेको भए विरोध जनाउनुपर्ने ठाउँ पनि थियो । तर ..राजविराजबाट प्रकाशित हुने प्रत्रिकामा सूचना छापिएकै छ’ उनले भने–‘विरोध गर्नैकालागि विरोध गर्नु उचित होइन्, यसले सर्वसाधारणलाई सेवा लिन समस्या भएकोले म दुखित छु ।’

यद्यपी, केही असन्तुष्टि भएको खण्डमा आफु छलफलबाट समाधान गर्न तयार रहेकोले यस्ता कार्य नगर्न उनले आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस