कडा सुरक्षाका बीच राजविराजसहित देशैभरि जसपाको प्रदर्शन (तस्विर हेर्नुहोस्)

राजविराज, ८ पुस । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले कडा सुरक्षाका बीच सप्तरीको राजविराज सहित देशैभरिका सदरमुकामहरुमा बुधबार (आज) वृहत विरोध प्रदर्शन गरेको छ ।

पार्टीको सोमवार सम्पन्न आकस्मिक बैठकले गरेको निर्णय अनुसार देशैभरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा बिघटन विरुद्ध प्रदर्शन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध र्यालीका सहभागीहरुले नाराबाजी गरेका छन् ।

यसैक्रममा संसद पुनस्र्थापनाको माग गर्दै राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएका र्याली राजविराजको गजेन्द्र चौक, शहिद चौकसहित नगर परिक्रमा गरेको छ । नगर परिक्रमा पश्चात पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरुले सम्बोधन गरेका छन् ।
जुलुस प्रदर्शनका क्रममा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले कडा सुरक्षा दिएका छन् । यद्यपी सुरक्षाकर्मीहरुले भने कार्यक्रममा अवरोध नपुर्याएको पार्टीका युवा नेता लक्ष्मण यादवले जानकारी दिएका छन् ।

यसअघि जनता समाजवादी पार्टीले मंगलवार पाँच दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पुस ८ गते बुधवार देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीकालागि देशभरी पार्टी कमिटीहरुको बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस