एन्टाद्वारा अमेरिकामा मनाईयो महाकवि विद्यापति स्मृति पर्व

राजविराज, ८ पुस । अमेरिकामा बस्दैआएका नेपालको तराईयनहरुको संगठन एसोसिएशन अफ नेपाली तराईयन इन अमेरिकाद्वारा मैथिली भाषाका महाकवि विद्यापतिको स्मृतिमा एक कार्यक्रम आयोजना गरियो ।

गत पुस ५ गते आइतवार नेपालको संध्याकालको समय ८ बजे शुरू गरिएको उक्त कार्यक्रम १२ बजे रात्रीसम्म मैथिली भाषा र मिथिला क्षेत्रका विद्वान् साहित्यकार, कवि, विष्लेशक, चिन्तक तथा सञ्चारकर्मी, अभियन्ता, कलाकारहरुको सहभागितामा जूम प्रविधिबाट कार्यक्रम आयोजना गरियो । एन्टाका अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, प्रवक्ता र अन्य पदाधिकारीहरुका साथ विश्वको विभिन्न भागमा रहने मैथिलीभाषीहरूले समेत सहभागिता जनाएका छन् ।

वरिष्ठ मैथिली साहित्यकार रामभरोस कापडि भ्रमरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन एन्टाको प्रवक्ता एवम् मुख्य संयोजक मोहन यादवले गरे । कार्यक्रमका सहभागीहरुले महाकवि विद्यापतिको जीवन वृत्तान्त र साहित्यिक तथा सामाजिक योगदानबारे चर्चा गरे ।

एन्टाका प्रेसिडेन्ट डा. इन्द्रदेव साहुले एन्टाको यो आयोजनको उद्देश्य र दूरगामी लक्ष्यहरुमाथि प्रकाश पार्दै सहभागी सम्पूर्ण विद्वान, कवि र कलाकारहरु प्रति आभारसहित धन्यवाद प्रकट गरे । उक्त कार्यक्रम ई नेपलीजको फेसबुक पेज र अन्यान्य मिडियाबाट लाइव प्रसारण गरिएको उक्त कार्यक्रममा मैथिली तथा नेपालीका सुपरिचित स्रष्टा डा. राजेन्द्र विमल, विद्वान् साहित्यकार र विचारकहरुमा रामनारायण देव, देवेन्द्र मिश्र रोशन, जनकपुरी, रामरिझन यादव, प्रेम विदेह ललन, दिनेश यादव, आभासेतु सिंह, श्यामसुन्दर यादव पथिक लगायतको सहभागिता रहेको थियो ।

मैथिली भाषामा शिक्षाप्रति अल्प जागरुकता, राज्यपक्षको उदासिनता, सरकारी कामकाजको भाषा न बनाइएको अवस्था, लोकसेवा आयोग र अन्य भाषिक अधिकारहरुवाट वञ्चित राखिएको अवस्था, नेपालको आगामी जनगणना २०७८मा मैथिलीलाई विखण्डित गर्ने षड्यन्त्र, जाति अनुसार भाषा हुन्छ जस्ता भ्रम र विखण्डन गर्ने खतरनाक षड्यन्त्र सहितका विषयमा विमर्श भएको छ ।

कार्यक्रममा मैथिली र नेपाली भाषाको शास्त्रीय गायक प्रशिक्षक गुरुदेव कामत, कञ्चन यादव, सोनाली कर्ण, अन्जु यादव, अञ्जली पटेल, तनुजा चौरसिया, इन्दिरा कर्ण, सन्तोष साह लगायतका कलाकारहरुले विद्यापति गीत प्रस्तुत गरेका छन् । यस समारोहवाट भविष्यमा गरिने महत्वपूर्ण योजना जस्तै मासिक कवि सम्मेलन, साहित्य प्रकाशन, स्मारिका प्रकाशन, विमर्श वेबिनार आयोजन, पुरस्कार वितरण, विश्व परिवार गठन, आदि जस्ता कार्य गर्ने अठौट आयोजक संस्था र जोडिएका विद्वान् साहित्यकार, कवि, अभियन्ता, नेतृत्वकर्ता मिलेर गर्ने निर्णय गरिएको छ । संस्थाकोतर्फवाट अध्यक्षका अतिरिक्त पूर्व अध्यक्ष विजय सिंह, सल्लाहकार डा. राम कृष्ण साह, अन्तर्राष्ट्रिय उपाध्यक्ष अनिल द्विवेदी, सह सचिव डा. विन्देश्वर साह र अन्य सदस्यहरुले मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस