छिन्नमस्ता गाउँपालिका: इन्धन र सवारी साधन मर्मत सम्भारमै ३७ लाखबढी खर्चियो (विवरणसहित)

राजविराज, १५ पुस । पहिलो चौमासिक निकासा लिईसक्नुपर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाले हालसम्म गाउँसभाबाट वार्षिक बजेटसहितको नीति तथा कार्यक्रमको मितिसम्म तोकिएको छैन । गाउँसभा गर्न नसकेका कारण विगत ७ महिनायता कर्मचारीले तलब पाउन सकेको छैन भने अर्कोतर्फ सामाजिक सुरक्षा भत्ता नपाएर सास्ती झेल्नुपरेको छ ।

चौतर्फी रुपमा आर्थिक अनियमितता र बेथितिबारे आलोचना भईरहँदा गाउँपालिकाले अत्यधिक रकम ईन्धन र सवारी साधन मर्मतमा खर्च गरेको तथ्य सार्वजनिक भएको छ ।

‘मधेश लाइभ’लाई प्राप्त तथ्याङ्क अनुसार गत वर्ष गाउँपालिकामा इन्धन र सवारी साधन मर्मत सम्भारमै ३७ लाखभन्दा बढी रुपैयाँ खर्च भएको खुल्न आएको छ । गाउँपालिका श्रोतका अनुसार इन्धन र सवारी साधन मर्मत सम्भारमा कुल ३७ लाख ५४ हजार १ सय ४४ रुपैयाँ खर्च भएको हो ।

गाउँपालिकामा यस्ता शिर्षकमा अनाहक खर्च गरिएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र कुमार यादव बताउँछन् । असार १० गतेभित्र गाउँसभाबाट वार्षिक बजेटसहितको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा हालसम्म ल्याउन नसकेको बताउँदै उनी भन्छन् ‘यो आर्थिक वर्ष पनि वित्नै लागेको छ तर अहिलेसम्म गाउँसभाको ठेकान छैन, असारे बजेट सिध्याएर प्रमुख प्रशासकीय अधिकृत गएको अहिलेसम्म फर्केर आएको छैन ।’

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत आउने कुनै अत्तो नरहेको र काम गर्ने अख्तियारी समेत कुनै कर्मचारीलाई नदिएका कारण कार्यालयको दैनिक कामकाज समेत प्रभावित भएको छ ।

आफुहरुले गाउँपालिकाको बेथितिबारे पटक पटक कुरा उठाउँदा पनि पालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले ध्यान नदिएको उनको गुनासो छ । गाउँपालिकामा व्यापक अनियमिता भएका कारण आफुहरुले आय व्यय विवरण हेर्नसम्म नदिएको बताउँदै वडा अध्यक्ष यादव थप्छन् ‘गाउँपालिकाका पदाधिकारीहरुको मिलोमतोमा कागज मिलान गरेर करोडौ रुपैयाँ भ्रष्टाचार गरेको छ, कमसेकम एक पटक अख्तियारको टोली आएर हेरिदिए सबै कुरा छर्लङ्ग हुन्छ ।’

यता गाउँपालिकामा विभिन्न शिर्षकमा अनियमितता भएको विषयमा अध्यक्ष सुर्यनारायण मण्डल (कुरुड)ले कर्मचारीहरुले भ्रष्टाचार गरेको हुनसक्ने स्वीकार्छन् । आफुले पालिकाको एक रुपैयाँ पनि अनाहकमा खर्च नगरेको दावी गर्दै उनी भन्छन् ‘मैले गाउँपालिकाको एक रुपैयाँ पनि अनियमितता गरेको छैन तर मेरै आडमा कर्मचारीले भ्रष्टाचार गरेको हुनसक्छ ।’ पालिकामा जोकोहीले भ्रष्टाचार गरेको भए कार्वाही हुनुपर्ने अध्यक्ष मण्डलको भनाइ छ ।

यस्तो छ इन्धन र सवारी मर्मतको खर्च विवरणः

Author:



क्याटोगरी छान्‍नुहोस