निरंकुशताको बाछिटा !

सरकार निरंकुश भएको भनेर अहिले देशभरि नै आन्दोलन चल्न थालेको छ । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको भन्दै सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नै अहिले आन्दोलनको अग्रपंक्तिमा छ, जसको नेतृत्व पार्टीकै शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले गर्दै आएका छन् ।

सरकारमाथि निरंकुशको आरोप लागिरहेको अवस्थामा मंगलबार सप्तरीमा दुई पत्रकारमाथि नै प्रहरीले दुव्र्यवहार गरेका छन् । कल्याणपोष्ट दैनिककी सम्पादक माला कर्ण तथा उपसम्पादक मंगलबार यस्तो दुव्र्यहारमा परेका हुन् । मोटर साईकलमा राजविराजस्थित गजेन्द्र चोकबाट मिनिमार्केटतिर जाँदै गरेको अवस्थामा बाटोमा प्रहरीले रोकेर पत्रकार भए के भो ? यहाँबाट जान नदिने भन्दै दुव्र्यवहार समेत गरेको पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सप्तरीले जनाएको छ ।

पत्रकार द्वयको मोटरसाईकलको साँचो खोस्न खोज्दा दिन नमानेपछि उल्टै दुव्र्यवहार गरेको भन्दै महासंघले त्यसप्रति आपत्ति समेत प्रकट गरिसकेको छ । निरंकुशता हावी भएका समयमा नेपालमा प्रेसमाथि धाबा बोल्ने विगतको परम्परा रहेको छ ।

जनतालाई सत्यतथ्य सूचना सम्प्रेषणको जिम्मेवारी बोकेका पत्रकारलाई समाचारमा अबरोध गर्ने काम पछिल्लो चरणमा राजा ज्ञानेन्द्रको निरंकुश कालमा समेत भएको थियो । समाचार लेखेको आरोपमै त्यो बेला पत्रकारमाथि धरपकड गर्ने, समाचारमा सेन्सर लगाउने काम भएको थियो ।

निरंकुशताका मतियारको पहिलो आक्रमणको शिकार पत्रकार बन्ने गरेको विगतको अनुभव रहेका कारण अहिले पत्रकारमाथि गरिएको दुव्र्यवहार कतै पहिलेकै ती काला अध्यायको पुनराबृत्ति त होईन ? भन्ने आशंका बढेको छ । यति बेला सडक तातेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको बिरुध्दमा प्रधानमन्त्रीका समर्थकबाहेक अरु सबै दलहरु सडक आन्दोलनमा उत्रेका छन् । राजनीतिक दलहरु मध्ये अधिकांशले प्रतिनिधिसभा बिघटनलाई सच्याउन जरुरी रहेको बताउँदै आएका छन् ।

सरकारले सुशासन दिन सकेन,भ्ष्टाचार बढ्यो भन्ने नेपाली जनताबाटै आरोप लाग्न थालेको छ । संबिधान बिघटन गर्ने अधिकार नभएपनि प्रधानमन्त्रीले संबिधानकै उल्लंघन गरेको भन्दै आवाज गुञ्जिन थालेको छ । संसद बिघटनको विषयलाई लिएर सर्बोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

अदालतबाट यसको निरुपण नभएसम्म कुर्नै पर्ने भए पनि आन्दोलनरत दलहरुले फैसला आफ्नो पक्षमा हुने दावी गर्दै आएका छन् । आन्दोलनको यस समयमा जनतालाई सूचना प्रवाहमा पत्रकारहरुमाथि जिम्मेवारी बढेको छ ।

यस्तो अवस्थामा समाचार संकलन र सम्प्रेषणमा कुनै व्यवधान नआओस् भन्नाकालागि प्रहरीले पनि पत्रकारलाई सघाउनु पर्ने, सुरक्षा दिनु पर्नेमा उल्टै बाटोमा रोक्ने, दुव्र्यवहार गर्ने काम हुन्छ भने यो कामलाई कसरी उचित भन्न सकिएला ? लोकतन्त्रको सबलीकरणकालागि प्रेस स्वतन्त्र हुनै पर्दछ ।

यसका साथै प्रेस सुरक्षित पनि हुन जरुरी छ । यो सुरक्षाको जिम्मेवारी सरकारको हो । अहिले जसरी सप्तरीमा पत्रकार दुव्र्यवहारका शिकार भएका छन् यस्तै घटना अन्यत्र पनि हुन थाले भने प्रेसमाथि अंकुश छैन भनेर कसरी पत्याउने ? अहिले आएको परिवर्तनका पछाडि प्रेस जगतको पनि लगानी कम छैन ।

निरंकुशतन्त्रका बिरुध्दको आन्दोलनमा प्रेसले खेलेको भूमिका प्रति वर्तमान सत्ताधारी दलका नेताहरु समेत जानकार नै छन् । प्रेसको गरिमामय ईतिहास रहँदारहँदै पनि अहिले पत्रकारमाथि दुव्र्यवहार गरिन्छ भने यसलाई निन्दनीय न भने के भन्ने ? यदि यस्तै रबैया रहिरहन्छ भने यसलाई निरंकुशताको बाछिटा भनियो भने कुन आधारमा त्यसको प्रतिवाद गर्न सकिएला ?

Author:



क्याटोगरी छान्‍नुहोस