संविधान उल्लंघन गरेको आरोपमा ओलीमाथि मुद्दा चलाउनुपर्छः उपेन्द्र

 

राजविराज, ७ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

अलोकतान्त्रिक, प्रतिगमनकारी कदम विरुद्ध सप्तरीको राजविराज स्थित राजरङ्गशालामा बुधबार आयोजित वृहत जनप्रदर्शन तथा विरोध सभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । सर्वसाधारणले कानून विपरित कार्य गरेमा कार्वाहीको भागिदारी बन्नुपर्ने चर्चा गर्दै उनले भने ‘प्रतिनिधि सभाको पुनरवहाली तथा संवैधानिक कदमको खारेजी मात्रले हुँदैन, संविधान उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुद्दा चलाउनुपर्छ ।’

देशका पूर्व न्यायाधिश मात्र नभई संसारले समेत प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको तथा संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्नकालागि यस्तो कदम चालिएको अध्यक्ष यादवले दावी गरे । कोरोनाको कहरले देशको अर्थतन्त्र धाराशायी रहेको चर्चा गर्दै उनले भने ‘हालै सार्वजनिक एक तथ्याङ्क अनुसार कोरोनाका कारण अर्थतन्त्रको घाटा परिपूर्ति गर्न करिब साढे ६ खर्ब रुपैयाँ लाग्छ, १३ लाख भन्दा बढी युवायुवती बेरोजगार भएको र उद्योगधन्दा प्रभावित भएको छ, यस्तो अवस्थामा सरकार गम्भीर बन्नुपर्ने थियो ।’

प्रधानमन्त्री ओलीमा निरंकुश र अहंकार व्याप्त रहेकोले अदालतबाट जनता र संविधानको पक्षमा निर्णय आउनेमा आफुहरु आशावादी रहेको उनले उनले बताए । अदालतबाट पनि न्यायोचित फैसला नभए जनअदालतबाट गर्ने बताउँदै जसपा अध्यक्ष यादवले भने ‘संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताको मौलिक हकको रक्षा जनसङ्घर्षबाटै गर्न बाध्य हुनेछौं ।’

महाभारतको द्रोपदी चीरहरणको प्रसङ्ग कोट्याउँदै अध्यक्ष यादवले सार्वजनिक रुपमा कौरवहरुले द्रोपदीको चीरहरण गरिरहँदा पाण्डवहरु शिर निहुराएर बसे जस्तै नेपाली कांग्रेस त्यही भूमिकामा रहेको बताए । कांग्रेस प्रतिपक्षी दल रहे पनि ढुलमुलको भूमिकामा रहेको भन्दै पार्टीका नेताहरुको चरित्रले पार्टीका कार्यकर्ताहरु समेत अलमलको अवस्थामा रहेको उनको भनाइ थियो । भारत सरकारले सिमानाका खुल्ला गरे पनि सिङ्गो मधेशका जिल्लाहरुमा पर्ने सिमानाकाहरु अझैं सरकारले बन्द राखेर जनतालाई दुःख दिने काम गरेको तथा नेपाल भारत बीचको सम्वन्धमा तिक्तता ल्याउने काम गरेको उनको आरोप थियो ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षाकालागि जनताले पुनः सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । महतो र ओली मिलेको छ भनी गलत प्रचार गरेर मधेशलाई कमजोर बनाउने षडयन्त्र भईरहेकोले यसबाट सचेत रहन आमजनतासँग आग्रह गरे ।

लोकतन्त्रको रक्षाकालागि वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न आमजनतालाई अपील गर्दै नेता महतोले जसपा विभाजनको भ्रमबाट मुक्त रहन सचेत गराए । सिमानाकाहरु बन्द गरेर वर्तमान सरकारले तस्करीलाई बढावा दिएको आरोप लगाउँदै नेता महतोले भने ‘सिमा क्षेत्रमा रहेको सामाजिक, धार्मिक तथा सामाजिक सम्वन्धमाथि प्रहार गरेको छ, सिमानाका बन्द राखेकोले खेत तथा नदीनाला भएर पैदल आवतजावत गर्नुपर्ने अवस्था छ ।’

पाटीको जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित विरोधसभामा पार्टीका कार्यकारिणी सदस्यहरु रेणु यादव, मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभा सदस्य मनिस सुमन लगायत शिर्ष नेताहरूले सम्बोधन गरेका छन् । सभामा स्वागत मन्तव्य जसपाका सप्तरी संयोजक केदार यादव तथा सञ्चालन नेता सत्यनारायण यादवले गरे ।

यसअघि पार्टीका अध्यक्ष यादव, वरिष्ठ नेता महतोसहितका शिर्षस्थ नेताहरु सम्मिलित प्रदर्शन राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चात राजरङ्गशालामा पुगी विरोध सभामा परिणत भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस