सुरक्षाको प्रबन्ध मिलाऊ

भुमिसुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीमा कार्यरत एक कर्मचारी शुक्रबार आफ्नै कार्यकक्षमा कुटिएका छन् । सोही कार्यालय अगाडि लेखापढी गर्दै आएका एक जनाले कम्प्यूटर सहायक पदमा कार्यरत ती कर्मचारीलाई छिटो काम नगरिदिएको आरोपमा कुटेका हुन् ।

मालपोत कार्यालय सप्तरीको परिसरभित्र लेखापढी व्यवसायी ठूलो संख्यामा रहने गरेका छन् । सेवाग्राहीसित अतिरिक्त रकम लिने र त्यसको केही भाग फाँटवालालाई पनि दिएर काम मिलाउने समेत कतिपय लेखापढी व्यवसायीले गर्ने गरेको विषय नौलो होईन ।

बाहिरबाट काम लिएर आएका सेवाग्राहीले लेखापढी व्यवसायीको मालपोत कार्यालयमा चल्ने गरेको जगजगी देखेर उनीहरुलाई पनि कतिपय सेवाग्राहीले कार्यालयकै कर्मचारी बुझ्ने गरेका पनि होलान् । फाँटभित्रै पसेर छिटो काम गराउनकालागि उनीहरुको चुरिफुरी निकै चल्ने गरेका कारणले केही बढी रकम दिएर भएपनि छिट्टै काम सकेर घर फर्किने सेवाग्राहीको चाहना रहने गरेका कारणले उनीहरु नतिर्नु पर्ने अवस्थामा पनि बढी रकम तिर्न विवश छन् ।

मालपोत कार्यालयमा जाँदा पहिले आएका सेवाग्राहीको काम पनि पहिला नै गरि दिने परम्परा स्थापित भएको देखिँदैन । अधिकांश ती कार्यालयको हाल यस्तै छ । भिडभाडमा ठेलमठेल गर्ने बलियाले पहिला काम गराउलान् तर भिडमा भिड्न नसक्नेको काम कति बेला हुने भन्ने ठेगान हुँदैन । राजविराजमा रहेको मालपोत कार्यालयमा पनि अवस्था यस्तै छ ।

भिडभाडमा कसले के गर्यो भन्ने सबैले चाल नपाउन पनि सक्दछन् । भिडकै मौकामा तलबाट केही रकम दिएर छिट्टै काम गराउनमा कतिपय लेखापढी व्यवसायी नै बिचौलियाको काम गर्ने गरेको स्वयम् सेवाग्राही पनि अस्वीकार गर्दैनन् ।

यसरी हेर्दा मालपोत कार्यालयमा पहिला आउने सेवाग्राहीको पहिला नै काम गरिदिने व्यवस्था नमिलाएसम्म अवस्था भद्रगोल नै रहनेमा आशंका छैन । काम गर्ने फाँटका कतिपय कर्मचारीले अतिरिक्त रकमको माग गर्ने, नदिए समयमा काम नगरेर आलटान गर्ने जस्ता कमजोरी पनि नरहेका होईनन् ।

उक्त कार्यालयमा कतिपय कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका घटनाले पनि त्यहाँ गडबडी हुँदोरहेछ भन्ने कुरालाई नै प्रमाणित गर्दछ । शुक्रबार लेखापढी व्यवसायीले नै कर्मचारीमाथि गरेको कुटपिटको कारण के हो? यसको कारण पत्ता लगाएर भविष्यमा यस प्रकारका घटना दोहोरिन नपाऊन् भन्नाकालागि प्रशासनले पनि चासोका साथ काम गर्न जरुरी छ । मालपोत कार्यालयमा कमजोरी छैनन् भन्न सकिन्न ।

त्यहाँ आएका सेवाग्राहीले पनि निकै सास्ती खेप्नु परेको अवस्था त छ नै । तर, कर्मचारीमाथि पनि हातपात हुन थालेपछि यसले त्यहाँको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ । कर्मचारीले असुरक्षित बाताबरणमा काम गर्न नसक्ने कुरा निश्चित नै छ ।

पहिला कर्मचारीको सुरक्षित तबरबाट काम गर्न सक्ने बाताबरण बनाउन जरुरी छ भने पालैपालो काम गरिदिने व्यवस्था मिलाउन सकियो भने यसले सेवाग्राहीले पनि अनावश्यक सास्ती ब्यहोर्नु पर्ने छैन ।
यस्ता विषयलाई चासोका साथ हेरिनु जरुरी छ । सेवाग्राहीले सरकारी दस्तुर तिरेर नै काम गराउँछन् ।

मालपोत कार्यालय राजस्व संकलनमा महत्वपूर्ण सरकारी निकाय पनि हो । शुल्क तिर्ने सेवाग्राहीले सजिलो र सहज तरिकाबाट काम गराउन् पाउन् भन्ने बारेमा आवश्यक व्यवस्था मिलाउनेतिर चासो राख्नु पनि आवश्यक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस