भाषण गर्ने स्थान नै उपेक्षित !

राजविराजको सबैभन्दा ठूलो खेल मैदान राजरंगशालाको अवस्था दिनदिनै खस्कँदो छ । खेलकूदकालागि बनाईएको यस मैदानमा राजनीतिक दलहरुका आमसभा पनि बारम्बार हुंदै आएका छन् । सरकारमा बसेका हुन् वा सत्ताबाहिर, प्रायः जसो सबै राजनीतिक दलहरुले बढी मानिसको जमघट रहने अवस्थामा यसै मैदानमा आमसभा आयोजना गर्दै आएका छन् ।

यही मैदानबाट नेताहरुले विकास निर्माणका अनेकौं आश्वासन पनि नदिएका होईनन् । तर, यो पुरानो धरोहर चाहिँ अहिले दसकौं यतादेखि उपेक्षित रहँदै आएको छ । अनेक प्रकारका समस्याले ग्रस्त यस रंगशालाको अवस्था सुधार गर्नकालागि कसैले पनि चासो नदेखाउनु चाहिँ उदेक लाग्दो विषय बनेको छ ।

जिल्ला खेलकूद विकास समिति,नगरपालिकादेखि प्रदेश र केन्द्र सरकार कसैको पनि चासो नपुगेका कारणले यस रंगशालाको अवस्था खस्कँदो छ । मूल प्रवेशद्वार नै अति जीर्ण रहेका कारणले यहाँ दुर्घटनाको जोखिम त छँदैछ । यसका साथै ठूला खालका खेलकूद प्रतियोगिता आयोजना गरिने समयमा दर्शकदीर्घाका रुपमा रहेको प्याराफिट पनि वर्षौंदेखि भत्किएको छ ।

भत्केको प्याराफिटमा बस्नुभनेको दुर्घटनाको जोखिम नै बढाएसरह हो । तर पनि यसको मर्मत सम्भारकालागि कसैले पनि वास्ता नराख्नु चाहिँ उदेक लाग्दो विषय भएको छ । राजरंगशालाको अवस्था किन दिनदिनै बिग्रेको भनि जानकारी लिन खोजियो भने जिल्ला खेलकूद विकास समितिको जवाफ हुन्छ, बजेटको अभाव छ । हो, समितिसित यति ठूलो बजेट नहोला । तर, यत्रो महत्वपूर्ण स्थान दिनदिनै कुरुप बन्दै गएका कारण यसलाई जोगाउने मामिलामा सरकार तथा सम्बन्धित निकायसमक्ष घचघच्याउने, बजेट ल्याउन पहल गर्ने काम पनि हुन नसक्नु चाहिँ आश्चर्यको विषय बनेको छ ।

राजविराजमा पनि कुनै बेला अन्तर्राष्ट्रियस्तरका सम्म खेलाडी उत्पादन नभएका होईनन् । यहाँ विगतमा जति खेलकूद प्रतियोगिताहरु आयोजना हुन्थे तुलनात्मक रुपमा बरु अहिले कम हुन थालेका छन् । प्रतियोगिताको आयोजना मात्र नभई उदीयमान खेलाडीले अभ्यास गर्नकालागि पनि खेलमैदान स्तरीय हुनु अपरिहार्य छ । तर, राजविराजमा त पहिला स्तरीय रहेको खेलमैदानको संरक्षण समेत हुन नसकिरहेको अवस्था कसैबाट लुकेको विषय होईन ।

घेरबेरको अभावका कारण मानिसको मैदानभित्र सहजै पहुँच बनेका कारणले राजरंगशालामा दिसापिसाब गर्नेहरुको रजाइँ चलेको छ । मानिस प्रातःकालीन भ्रमणमा निस्कँदा पनि यसै मैदानमा फन्को लगाउन रुचाउने भएका कारणले सार्वजनिक महत्वको यस स्थलको संरक्षणमा स्थानीय, प्रदेश तथा केन्द्र सरकार सबैको ध्यान जान जरुरी भए पनि त्यो हुन सकिरहेको छैन ।

विशेषतः सप्तरीमा खेलकूदको विकासमा यस खेलमैदानको योगदान बिर्सन सकिन्न । यही मैदानमा अभ्यास गरेर राम्रा खेलाडी उत्पादन भएका कारण यसको महत्व बढेको हो । भावी पुस्तालाई पनि खेलकूदको अभ्यास गर्न, प्रतियोगिताको आयोजना गर्न पनि यस मैदानको आवश्यकता अवश्य नै पर्नेछ ।

भएको पूर्वाधारको संरक्षण गरी त्यसको थप स्तरोन्नतिकालागि प्रयास भएमा मात्र जिल्लामा खेलकूदको पनि भविष्य सुनिश्चित रहने छ । बरु पञ्चायत कालमा यस मैदानको स्तरोन्नतिकालागि निकै काम भएको थियो भनि जिल्लाकै पुराना खेलाडीहरुको मुखबाट सुन्न थालिएको छ । परिवर्तित सन्दर्भमा पनि यसलाई सुरक्षित तथा थप स्तरीय बनाउनकालागि आवश्यक काम गरिनु अत्यावश्यक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस