एमबीबीएस अध्ययनरत छोराको खर्च जुटाउन मरिक परिवारलाई समस्या

राजविराज, १७ माघ । एमबीबीएसमा अध्ययनरत सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर २ का दिनेश कुमार मरिक (डोम) परिवारलाई कलेज खर्च जुटाउन समस्या भएको छ ।

वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा तेस्रो वर्षमा अध्ययनरत दिनेशलाई कलेजले ३ लाख ६३ हजारको बिल थमाएको हो । आगामी फागुन १० गतेभित्र उक्त रकम बुझाउन समय सिमा दिएको छ । चरम गरिवीको मार खेप्दैआएका मरिक परिवारलाई यतिबेला चिन्ताले सताएको छ । एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छोरोको कलेज खर्च समयमा जुटाउन नसक्दा पढाईबाट वञ्चित हुने हुने हो कि भने चिन्ताले सताउने गरेको उनका बुवा युक्ति मरिक बताउँछन् ।

त्रिभुवन विश्व विद्यालय अनुदान आयोगले टियुसन फी वापत ४२ लाख ५० हजार रुपैयाँ कलेजलाई तिरेको छ । यद्यपी उनलाई होस्टेल शुल्क ९ हजार र मेस वापतको ९ हजार गरी १८ हजार रुपैयाँ प्रति महिना तिर्नु परेको छ । यसकासाथै शैक्षिक सामग्री लगायतका खर्च समेत स्वयम्ले नै तिर्नुपर्ने वाध्यता रहेको दिनेशका बुवा युक्ति दुःखेसो सुनाउँछन् । उनी भन्छन् ‘घरपरिवारमा कुनै रोजगारी छैन, जेनतेन घर चलाउँदै आएको छु, डोम समुदायबाट छोरालाई पहिलो डाक्टर बनाउने सपना कसरी साकार होला भनी चिन्ताले सताएको छ ।’

दिनेशलाई आर्थिक समस्या भएपछि प्रदेश २ सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले एक वर्ष अघि तीन लाख रुपैयाँको चेक उपलब्ध गराएको थियो । उक्त रकम तत्कालै नेशनल मेडिकल कलेजमा जम्मा गरेका थिए । दिनेशलाई कलेजमा तिर्नुपर्ने अन्य शुल्क वापतको रकम उपलब्ध गराउने निर्णय भईसकेको भनी आफुले मुख्यमन्त्री राउतबाट जानकारी पाए पनि नियमावली बन्न नसकेर ढिलाई भएको जवाफ पाउने गरेको युक्तिले बताए । ‘प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासँग निरन्तर सम्पर्कमा छौं, हेरौं के हुन्छ ?’ उनले थपे ‘फागुन १० गतेसम्ममा रकम नबुझाए परीक्षा फारम भर्न नपाउने अवस्था छ, त्यसैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन आग्रह गर्दछु ।’

यता दिनेश चिकित्सक बनेर समाज र देशको सेवा गर्ने तथा डोम जातीको उत्थानकालागि केही गरेर देखाउने सङ्कल्पकासाथ दत्तचित्त भएर अध्ययनमा लागेका छन् । बेलाबेलामा आर्थिक समयस्याले आफुलाई पिरोल्ने गरेको बताउँदै उनी भन्छन् ‘आर्थिक समस्याको चिन्ताले गर्दा पढाई प्रभावित हुने हो कि भने चिन्ता सताईरहन्छ, त्यसैले आ–आफ्नो तवरबाट सहयोग गरी म र मेरो घरपरिवारको सपना साकार पार्नमा भूमिका निर्वाह गरिदिन अनुरोध गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस