प्रदेश प्रमुख बर्खास्तीले प्रतिगमन र निरंकुशता स्पष्ट हुन्छः मन्त्री यादव

जनकपुरधाम, ८ फागुन । प्रदेश २ सरकारले प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिमा आपत्ति जनाएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रमुख बर्खास्त गर्नुले संघीय सरकारको प्रतिगमन र निरंकुशता स्पष्ट भएको बताए ।

‘संघीय सरकार प्रतिगमन र निरंकुश ढंगले अघि बढेकै कारण प्रतिनिधिसभा विघटन गरेको कुरा सवैले वुझ्नु जरुरी छ, अहिले विना कारण प्रदेश प्रमुखलाई बर्खास्त गर्नु पनि प्रतिगमन र निरंकुशताकै प्रतिक हो’ उनले मधेशलाइभसँग कुराकानी गर्दै भने–‘यो कदमले प्रदेशलाई मर्माहित बनाएको छ र यो निरंकुशताको हामी भत्र्सना गर्दछौं ।’

प्रदेशमा झण्डै १८ रहेको दलित समुदायलाई पनि समेटेर प्रदेश सरकार अघि बढेको उनले बताए । ‘हामी विभेदरहित प्रदेश बनाउनेतिर लागेका छौं, त्यसकालागि वर्षौदेखि पछाडी पारिएका समुदायलाई पनि हरेक क्षेत्रमा पहुँच बढाउदै अघि बढेका छौं’ उनले भने–‘तर, त्यही समुदायबाट आएका प्रमुखलाई कारण विना नै हटाएर समग्र प्रदेशवासीलाई मर्माहत बनाएको छ, यो हामीलाई कदापी पनि स्वीकार्य हुँदैन् ।’

मन्त्री यादवले प्रदेश प्रमुखलाई यथावत राख्नुपर्ने माग गरे । ‘उहाँलाई यथावत राख्नुपर्छ, त्यसकालागि हामी पहिलो चरणमा संघीय सरकारसँग समन्वय गर्नेछौं र नमाने प्रधानमन्त्री विरुद्ध प्रदेश सरकारले आन्दोलन थाल्नेछ ।’

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई प्रमुखबाट हटाएर राजेश झालाई नियुक्त गरेकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस