गजेन्द्रनारायण सिंह अस्पतालः मेसुबाटै चिकित्सक असुरक्षित, न्याय गुहार्दै प्रहरीमा जाहिरी !

राजविराज, २७ फागुन । असुरक्षित भएको भन्दै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् । विहिवार उनीहरुले सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग गर्दै राजविराजमा प्रदर्शन गरेका हुन् ।

गए राति अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रञ्जित कुमार झासहितका २०/२२ जनाको समूहले निवासमै आएर ढोका छोडफोड गर्दै डा.अजय चौधरीमाथि दुव्र्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् ।

डा. चौधरीसहितका चिकित्सकहरुले विहिवारै पत्रकार सम्मेलन गर्दै निजी क्लिनिकलाई प्राथमिकतामा राखेर डा.झा अघि बढेको र त्यसमा न्यूनिकरण गर्न खोज्दा आफुसहितका चिकित्सकहरुलाई होच्याउँदै आएको बताएका छन् । ‘मैले इर्मेजेन्सीमा आएका विरामीलाई राम्रो उपचार सेवा दिँदै आएको छु, रिफरै गर्नुपर्दा सम्भवतः धरान सरकारी अस्पतालमै पठाउँदै आएको छु पनि’ इर्मेजेन्सी शाखाका इन्चार्ज चौधरीले भने–‘तर मेसु साब’लाई ती कुराहरु अपच्य हुँदै आइरहेको छ ।’

आफुहरुको कार्यले यहाँका निजी क्लिनिकहरुमा विरामीहरु घट्न थालेपछि मेसुले आक्रमक शैली अपनाएको उनले आरोप लगाए । ‘राति ११ बजेतिर भएको घटनाले नै हामी न्यायको गुहार गर्न बाध्य भयो’ उनले भने–‘यसअघि पनि मेसु डा.साब’ले हामीसँग गर्ने व्यवहार होच्याउने खालकै रह्यो, विरामीहरुकै अगाडी हेपेरै कुरा गर्नुहुन्छ ।’

तदापी हामीले अस्पतालकै बदनामी हुने डरले चुप लागेर काम गर्दै आएको उनले बताए । ‘तर अब कसरी सहन सकिन्छ, राति सुतेकै बेला मदिरा सेवन गरेर समूह लिएरै आउनुहुन्छ र गाली गलौज गर्दै दुव्र्यवहार गर्नुहुन्छ’ उनले भने–‘उहाँहरु समूहसहित आउँदा मैले ढोका नै नखोलेपछि जोगिए, नभए कुटपिटसम्म गर्नुहुन्थ्यो, पछि चिनजानका सवैलाई फोन गरे र उहाँहरु आएपछि म जोगिन पुगे ।’

पत्रकार सम्मेलनमा उपस्थित डा.राजीव मिश्र, डा.ज्ञानेन्द्र कुमार झा, डा.जितेन्द्र कुमार यादव, डा.संजीव साह लगायतले चिकित्सकहरुको सुरक्षाको सुनिश्चितता हुनेतर्फ पहल गरिदिनुहुन सबैमा आग्रह गरे । पत्रकार सम्मेलनपछि प्रदर्शन र्यालीसहित चिकित्सकहरुले जिल्ला प्रहरी कार्यालय पुगेर मेसु डा.झाविरुद्ध जाहिरी समेत दिएका छन् ।

के भन्छन्, मेसु डा. झा ?

अस्पतालका मेसु डा.झाले पनि विहिवारै पत्रकार सम्मेलन गरेर आफुमाथि समेत दुव्र्यवहार भएको बताए । ‘राति १२ बजेको समयमा डा.चौधरीसहितका १ सय जनाको समूहमा आएका व्यक्तिहरुले आफ्नो निवासको ढोका तोडफोड गरेका छन्’ उनले भने–‘उल्टै मैले नै दुव्र्यवहार गरे भनेर अनावश्यक प्रचारवाजी भइरहेको पाएपछि पत्रकार सम्मेलन राख्नुपर्यो ।’

डा.चौधरी वा अन्य कुनै चिकित्सकलाई आफुले होच्याउने खालको व्यवहार नगरेको डा. झाले बताए । ‘इर्मेजेन्सीमा अनावश्यक र मनोमानी ढंगले काम भइरहदा मैले सुझाव दिन पाउने कि नपाउने? अस्पताल सुधारका लागि मैले सुझाव दिँदा र केही चिकित्सकलाई स्पष्टिकरण माग गर्दा यो झमेला झिकेको छ’ उनले भने–‘जसले जे भनेपनि म अस्पतालमा उपचार सेवा सुधार गर्न प्रयास गर्छु र गरिरहने छु ।’

अस्पतालमा केही चिकित्सककै कारण उपचार सेवामा समेत समस्या भइरहेको उनले बताए । ‘कर्मचारी यहाँका हुन् तर उपचार चैं निजी अस्पतालमा गएर गर्ने ?’ उनले भने–‘त्यही काम यहाँ गर्न लगाउँदा गर्नै नमान्ने? यही कुराहरुमा कस्न खोज्दा मैमाथि आरोप लगाइएको छ ।’

यद्यपी, केही चिकित्सकहरुले लगाएको आरोपहरु सावित भए राजीनामा नै दिने मेसु झाले घोषणा समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस