राजविराज नगरपालिकाः लहान पठाइएको वारुणयन्त्रको ‘इन्जिन’ गायब !

राजविराज, ३ चैत । आगलागीका कारण सप्तरीमा वर्षेनी सयौं घर जल्छन्, सर्वसाधारणको उठिवास हुन्छ । कतिपय आगलागीका घटनामा सर्वसाधारणले ज्यानै गुमाउनु परेको छ । यसै अवस्थालाई मध्यनजर गरी स्थानीय तहहरुमा धमाधम वारुणयन्त्र (दमकल) खरिद गरिसकेका छन् भने कतिपयमा खरिद प्रक्रियामा छन् । तर, राजविराजमा नगरपालिकामा भने खरिद गरिएको दमकल पनि ‘कबाडी’ बन्दै गएको छ ।

तत्कालिन जिल्ला विकास समिति समेतको सहयोगमा खरिद गरिएको ‘टाटा १२१०’ मोडलको वारुणयन्त्र ‘कबाडी’ बन्दै गएको हो । २०५३ सालमा खरिद गरिएको सो दमकल डेढ वर्षअघि नै विग्रीए । मर्मत गराउने भन्दै दमकलको ‘इन्जिन’ झिकेर मर्मतको लागि पठाइएको छ । तर ‘इन्जिन’ झिकिएको डेढ वर्ष भइसक्दा पनि मर्मत गराएर पुनः सञ्चालनमा ल्याउनेतर्फ नगरपालिकाको ध्यान पुगेको छैन् ।

सर्वसाधारणसँग प्रत्यक्ष सरोकार जोडिएको लाखौंको दमकल लथालिङ्ग भइरहेकोमा नगरपालिका चुपचाप छ । दमकल मर्मतका सामाग्रीहरु नेपालमै जहाँतही नपाँउने तर्क गर्ने नगपालिकाको अर्को दमकल पनि विग्रीएकै छ । अर्को दमकल वर्षअघि नै विग्रिएपछि अहिले गेष्ट हाउस अगाडी थन्काइएको छ ।

नगरपालिका श्रोतका अनुसार सो दमकलको मर्मतका लागि लगिएको बेला ४० हजार रुपैयाँ मर्मत खर्च भनिएको थियो तर नगरपालिकाले सो रकम नतिरेपछि अझैसम्म मर्मत हुन सकेको छैन् । दुवै दमकलको मर्मत गराउनेतर्फ नगरपालिका अझै प्रष्ट छैन् ।

उता, स्थानीयहरुले नगरपालिकाको सो कार्य गैरजिम्मेवारपूर्ण रहेको बताएका छन् । ‘जनतासँग प्रत्यक्ष सरोकार जोडिएको दमकल विग्रिएको यतिका समयसम्म पनि मर्मत नगराउनु दुःखद हो’ नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवले भने–‘अब आगलागीका घटना पनि सुनिन् थालेको छ, तत्काल दमकलको मर्मत गराएर तयार अवस्थामा राख्नुपर्नेमा नगरपालिका चुपचाप बस्नु गैरजिम्मेवारपूर्ण कार्य हो ।’ उनले यस विषयमा नगरपालिकालाई गम्भीर हुन आग्रह गरे ।

के भन्छन् नगरपालिका ?

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले नगरपालिकासँग तीन वटा दमकल रहे पनि एउटा मात्रै सञ्चालनमा रहेको मधेशलाइभलाई प्रतिक्रिया दिए । ‘एउटा पुरानो चैं कामै नलाग्ने भएको छ, त्यस विषयमा सोधखोज गर्दा विग्रिएपछि इन्जिन झिकेर लहान पठाएको वुझे’ उनले भने–‘म आफैं दुई पटक लहान पुगेर एक–एक मर्मत सेन्टरमा खोजे तर इन्जिन कत्तै भेटिन ।’

उनले इन्जिन दिएको मिस्त्री भारतको रहेको र लकडाउनमा मिस्त्री पनि भारत गएपछि इन्जिन फेला पार्न नसकेको बताए । ‘यद्यपी हामी खोज्दैछौं’ उनले भने–‘विग्रिएको अर्को दमकलको मर्मत गराउन पनि हामी पहल गर्दैछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस