बुद्ध एयरको भाडादरः जनकपुरभन्दा राजविराजमा दोब्बर

राजविराज, ९ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले पनि हवाई भाडा बढाएका छन् ।

निगमले गत मंगलवार (चैत ३ गते) राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएसँगै काठमाडौं–राजविराज उडान भर्ने ‘बुद्ध एयरलायन्स’ले एक सय रुपैयाँ (ई–क्लास) भाडा बढाएको हो ।

राजविराज–काठमाडौं यात्रा गर्दा पहिलेदेखि नै भाडादर महँगो राखिएको स्थानीयवासिन्दादेखि व्यापारीहरुको गुनासो रहदै आएको थियो । अहिले बढाइएको भाडाले अत्यधिक नै महँगो भएको उनीहरु बताउँछन् ।

‘एयरलायन्सले सुरुदेखि भाडादर महँगो राखेको छ, अहिले फेरी बढ्दा अत्यधिक नै महँगो भयो’ बोदे बरसाईनका पप्पु कुमार यादवले भने–‘इकोनोमी कलासकै अहिले ३५ सय रुपैयाँ कायम गरिएको छ, जब की जनकपुरबाट ‘वी क्लास’को पनि २३ सय रुपैयाँ मात्रै छ र यहाँ ‘वी क्लास’को ५२ सय ५५ भाडादर छ ।’

यो कुनै पनि दृष्टिकोणले उचित भाडादर नरहेको उनले बताए । ‘यहाँबाट एउटा मात्रै विमान सञ्चालन भइरहेकोले पनि कम्पनीले मनोमानी गरिरहेको अवस्था छ, विमान थप्ने विषयमा यहाँका सरोकारबालाहरुले पनि आवाज उठाउनुपर्ने हो’ उनले भने–‘तर कसैलाई मतलव नै देख्दिनँ ।’ उचित भाडादर कायम गराउनेतर्फ पहल हुनुपर्ने उनको भनाई छ ।

लकडाउनपछि तीन पटक बढ्यो भाडा

कोभिड–१९ महामारीका कारण राजविराज विमानस्थलमा ठप्प रहेको उडान सेवा गत असोज ९ गतेबाट पुनः सञ्चालन भयो । सो बेला बुद्ध एयरलायन्सले दिउँसो १२ बजेर १५ मिनेटमा काठमाडौं–राजविराज तथा दिउँसो १ बजेर १५ मिनेटमा राजविराज–काठमाडौंकालागि उडान तालिका निर्धारण गरेर न्यूनतम भाडादर ३२ सय ५५ रुपैयाँ कायम गरे ।

यसैगरी ३५ सय ५५ (सी क्लास), ३८ सय ५५ (डी क्लास), ४५ सय ५५ (बी क्लास), ५२ सय ५५ (ए क्लास) र ५९ सय ५५ (वाइ क्लास) भाडा कायम गरेर सञ्चालन भएको थियो । तर, अहिलेसम्म आइपुग्दा न्यूनतम भाडादर नै ३५ सय रुपैयाँ पुगेको एयरलायन्स शाखा राजविराजले जनाएको छ ।

तत्काललाई यस्तो छ भाडादर

अहिले तत्काललाई न्यूनतम ३५ सय रुपैयाँ भाडादर कायम गरिएको एयरलायन्स राजविराज शाखाका म्यानेजर अनिल राजवंशीले जानकारी दिए । उनका अनुसार ३५ (ई क्लास) रुपैयाँ, ३६ सय ८० (सी क्लास), ३८ सय ८० (डी क्लास), ४६ सय ८० (बी क्लास), ५३ सय ८० (ए क्लास) र ६० सय ८० (वाइ क्लास) निर्धारण गरिएको जनाएको छ ।

के भन्छन् एयरलान्यस कम्पनी ?

एयरलायन्स राजविराज शाखाका म्यानेजर अनील राजवंशीले लकडाउनपछि तीन पटक भाडा बढेको बताए । ‘हवाइ इन्धनको मुल्य बढेसँगै भाडा पनि समायोजन भएको हो’ उनले भने–‘भाडा बढ्दा हामीलाई थाहा पनि हुँदैन्, माथिबाटै निर्धारण भएर आउँछ र हामी त्यसैलाई कार्यान्वय गछौं ।’

जनकपुर र विराटनगरभन्दा राजविराजमा त जहिले महँगो नै हुन्छ किन ?, सो प्रश्नमा उनले भने–‘अब त्यहाँ प्रतिस्पर्धा छ, त्यसैले यहाँभन्दा भाडादर केही फरक हुनसक्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस