जबरजस्ती करणी, ठगी र चोरीमा संलग्न गिरोह पक्राउ

इटहरी, १२ चैत । सुनसरी प्रहरीले जबरजस्ती करणी, ठगी र चोरीमा संलग्न रहेका गिरोहका पाँच जनालाई पक्राउ गरेको छ । एक साता यता पक्राउ गरिएका पाँचै जनालाई बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

जबरजस्ती करणीका एक जना, नक्कली सुन दिएर ठगी गर्ने दुई जना र स्कुटर चोरीमा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन केसीले जानकारी दिए ।

उनका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा इटहरी–४ का ४० वर्षिय प्रेम निरौलालाई पक्राउ गरिएको छ । निरौलाले पहाडी जिल्लाबाट अध्ययनको शिलशिलामा आएकी एक बालिकालाई आफ्नै घरको कोठा भाडामा दिएर बिवाहको प्रलोभन देखाइ जबरजस्ती करणी गरेको र अश्लिल भिडियोहरू समेत बनाएर ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ ।

निरौलाविरूद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ अनुशन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए । यसैगरी ठगी गर्ने इटहरी–९ का २० वर्षीय फैजान आलम र इनरुवा–१० का ४१ वर्षीय जल्लाउदिन मियाँलाई पक्राउ गरिएको छ । उनीहरुले इटहरी–८ गैसारका ३८ वर्षीय यज्ञ बिक्रम ठकुरीलाई जग्गाको कारोबारमा फसाएर ठगी गरेका थिए ।

‘गत चैत ५ गतेको घटना हो, आरोपीले सस्तोमा जग्गा खरिद गर्न लागेको भन्दै ४ लाख लगानी गर्नुहोस् र म ८ लाख लगानी गर्छु भनेर १० ग्राम बराबरको ८ वटा सुनको सिक्का दिएका रहेछन्’ डिएसपी केसीले भने–‘तत्काललाई सुन राख्नुस्, म भरै साँझसम्म आएर पैसा फिर्ता गरिदिन्छु र पैसा लिएर फरार भएपछि हामीकहाँ उजुरी आएको थियो ।’ सोही आधारमा हामीले गत ९ गते आलम र मियालाई पक्राउ गरेर अनुशन्धान अघि बढाएको उनले बताए ।

यसैगरी को ३७ प ८१०५ नम्वरको स्कुटर चोरीको आरोपमा मोरङको बुढिगंगा गाउँपालिका–२ का २४ वर्षिय खगेन्द्र काफ्ले र सोही ठाउँका २७ वर्षीय अर्विन मगरलाई पक्राउ गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस