पथरी शनिश्चरेका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनामाथि मुद्दा दायर

विराटनगर । भ्रष्टाचार गरेको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनामाथि विहिवार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ लाख २७ हजार ५४५ विगो दावी गरी मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीहरुले चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत सो नगरपालिकालाई पोखरी निर्माणको लागि प्राप्त भएको रकम हिनामिना गरेका छन् । पोखरीहरु सम्पन्न नै नगरी खर्चको बिल तयार गरेर भुक्तानी लिएकाले आयोग ऐन, २०४९ को दफा ३५ को उपदफा (१) बमोजिम आरोपपत्र दायर गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, इन्जिनियर कृष्ण प्रसाद कोइराला र असिस्टेन्ट (सहायक) सव–इन्जिनियर लिलाराज भट्टराईले पोखरी निर्माण भइसकेको भनी गलत कार्यसम्पन्न प्रतिवेदन गरेका छन् भने उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल, कोषाध्यक्ष विनिता देवानसँग मिलेमतो गरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी एवं सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरको आयोगको विज्ञप्तीमा छ ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१), दफा १९ तथा दफा १७ को हकमा सो रकम विगो दावी गरि सजायको माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस