कोरोना बढ्यो, २५ जनाभन्दा धेरै भेला नहुनू : स्वास्थ्य मन्त्रालय

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।

२५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए। ‘अहिले कति ठाउँमा जुन भीडभाड भइरहेको छ, अब त्यो भीडभाड पुरै बन्द गर्नुपर्छ। जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ’, उनले भने, ‘त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला जमघटहरू सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं।’

उनका अनुसार कोभिड–१९ का केसहरू गएको महिनाको भन्दा बढेका छन्। आईसीयूमा बिरामीहरू धेरै नै भर्ना भइसकेका उनले बताए। ‘त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो। अब बढ्न थाल्यो। अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ’, उनले भने।

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको बताए। त्यसका लागि भीडभाड नगर्ने, दूरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए।

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शंकास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन कार्यलाई तीब्रता दिएको डा गौतमले बताए।

‘सीमा नाकामा र अन्यत्र शंकास्पद देखिएका ठाउँमा एन्टिजेन टेस्ट गर्‍यो भने छिटो व्यवस्थापन गर्न सकिन्छ। जो पोजेटिभ आयो उसलाई आइसोलेसनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेसन सेन्टरमा पठाउने र जो नेगेटिभ आयो उसलाई घरमै क्वारेन्टिनमा बस्नु भनेर पठाउने, पाँचवटा मास्क पनि दिएर पठाउने’, उनले भने, ‘कतिपय ठाउँमा मास्कको पनि सप्लाई हुँदै होला।’

पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको डा  गौतमले बताए। त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि उनले बताए।

‘अलि सिरियस, जटिल लक्षणहरू देखिराखेका छन्। मान्छेहरू बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर, अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरूको संख्या ह्वात्तै बढेको छ। त्यसको मतलब संक्रमण भएकाहरूमा जटिल क्षणहरू धेरै देखिएको छ’, डा गौतमले भने, ‘जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ।’

गत वर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतले बताए। गत वर्ष रोग र यसको व्यवस्थापनका बारेमा केहीपनि थाहा नभएको तर, यसपटक औषधि भन्दा पनि अक्सिजन र रोगसँग लड्नुपर्ने अन्य सामग्रीहरूको जोहो गर्नुपर्छ भन्ने थाहा भएकोले सोही अनुसारको तयारी गरिएको डा गौतमको दाबी छ।

Author:



क्याटोगरी छान्‍नुहोस